रेबिजको समस्या बढ्दो जनस्वास्थ्य समस्याका रुपमा लिन थालियो

काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला भएसँगै पूर्णखोप विद्यालयको अवधारणा अघि बढ्यो
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ पौष १४, सोमबार (२ हप्ता अघि)
  • ९७ पटक पढिएको

रेबिजको समस्या बढ्दो जनस्वास्थ्य समस्याका रुपमा लिन थालियो

काभ्रे । रेबिज रोग परापूर्वकालदेखि नै हामीले भोग्दै र सुन्दै आएको रोग हो । यो रोग मुख्यतया बहुला कुकुर तथा बिरालो, स्याल प्रजातिका जङ्गली पशुहरु, न्याउरी मुसो र भ्याम्पाएर ब्याट भनिने एक प्रकारको रगत चुस्ने चमेरोआदिको टोकाईबाट मानिसमा सर्ने गर्दछ । मानिसमा हुने ९५ प्रतिशतभन्दा बढी रेबिज रोग कुकुरको टोकाईबाट हुने गरेको विज्ञहरुको भनाई छ । यतिखेर काभ्रेपलाञ्चोक जिल्लामा जनस्वास्थ्य समस्याको हिसाबले सामुदायिक कुकुरहरुको व्यवस्थापनमा चुनौती देखिँदा रेबिजको जोखिम उच्च रहेको पाइन्छ ।
यो तथ्यलाई सोमबार बागमती प्रदेशमातहतको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पत्रकारहरुमाझ समस्याको रुपमा प्रस्तुत गरेको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले भनिन्, ‘काभ्रे जिल्लामा सामुदायिक कुकुरहरुको व्यवस्थापनमा चुनौती देखिँदा रेबिजको जोखिम उच्च रहेको र यसमा विशेष कार्यक्रम संचालनमा सबै सरोकारवालाहरुलाई आग्रह गर्दछु ।’
हुनपनि पछिल्लो समय यसलाई जूनोटिक(पशुबाट मानवमा सर्ने) रोगका रुपमा एक स्वास्थ्य पहललेमात्रै सम्भव हुने निष्कर्षसहित विश्व पशु स्वास्थ्य संगठन(ओआईई), विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र यूएन खाद्य तथा कृषि संगठन(एफएओ) बीच एक–स्वास्थ्य अवधारणा(वन हेल्थ एप्रोच) मा काम गर्न त्रिपक्षिय सम्झदारी भएको छ । मानिसलाई कुकुर, बिरालो वा जङ्गली पशुले टोकेमा लगाउने खोप सरकारले लगभग निःशुल्क उपलब्ध गराइरहेको छ । तर यसको उपलब्धतालाई अझ व्यापक बनाउन र खोपलाई तोकिएको तापक्रममा चिस्यान राखे नराखेको अनुगमन गर्न जरुरी छ । तर अहिलेसम्म ‘एक स्वास्थ्य’ मा आधारित राष्ट्रिय कार्ययोजना बनाएर व्यवस्थित हिसाबबाट रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन भने हुन सकेको छैन ।
उता, नेपाल सरकारल संविधानको धारा ५१ को खण्ड(ज) मा उल्लेखित नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिको कार्यान्वयन गर्न जनस्वास्थ्य, वनस्पति र वातावरणीयस्वास्थ्यका निकायबाट समन्वयात्मक रुपमा कार्य गर्नका लागि एक–स्वास्थ्य रणनीति, २०७६ लागू गरेको छ । जिल्लामा रेबिजको खोप केही समय उपलब्ध हुन कठिनाई भए पनि अहिले उपलब्ध रहेको, काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको जानकारी दिइयो । अब पूर्णखोप विद्यालयको अवधारणा अघि सारेर काम गर्ने सोच बनाएको श्रेष्ठले जानकारी दिइन् । नेपालमा खोप लगाउने बालबालिकाको समग्र अवस्था भने ५२ प्रतिशत रहेकोमा वागमती प्रदेशमा ६० प्रतिशत छ ।
अझै पनि जिल्लामा प्रतिहजारमा ३८ जना बालबालिकामा निमोनियाको समस्या रहेको जानकारी दिइयो । जिल्लाका ८६ प्रतिशत महिलाले गर्भ जाँच गर्ने गरेका छन् भने शिक्षित वर्गमै धेरै पूर्ण स्तनपान नगराउने महिलाहरुको संख्या बढी रहेको देखाइयो । परिवार नियोजनको सेवा उपयोगको दर बढ्दो क्रममा रहेकाले जनसंख्या घट्दो क्रममा रहेको बताइयो । २० वर्ष मुनिका महिलाले बच्चा जन्माउने दर ७ दशमलव ७२ प्रतिशत रहेको तथ्यांक छ । नसर्ने रोग अन्तर्गत उच्च रक्तचाप ३ हजार ३१६ जनामा, मधुमेहको समस्या १ हजार १८३ जनामा र आत्महत्या ११९ जनाले गरेका तथ्यांक छ ।
काभ्रे जिल्लामा ६ वटा सरकारी अस्पतालहरु रहेका छन् । निजी अस्पतालको संख्या ११ छ । स्वास्थ्य चौकी ८४, प्राथमिक स्वास्थ्य केन्द्र ४, आयूर्वेद तथा वैकल्पिक चिकित्सालय ६, शहरी स्वास्थ्य केन्द्र १३, सामुदायिक स्वास्थ्य इकाई २२ वटा रहेका छन् । यस्तै आधारभूत स्वास्थ्य केन्द्र ३९, वर्थिङ सेन्टर ४७ वटा, क्षयरोग माइक्रोस्कोपी सेन्टर २३ र ओटीसी सेन्टर ३८ वटा रहेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार सुरक्षित गर्भपतन साइट २२, डट्स सेन्टर १५६, निजी क्लिनिक ÷ पोलिक्लिनिक २०, बेसिक ल्याव ३३, किशोर किशोरी मैत्री स्वास्थ्य संस्था २५, गाउँघर क्लिनिक ३६३ वटा रहेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार खोप क्लिनिक ३६७ वटा, महिला स्वयं सेविका ९३७ जना र जिल्लामा संचालित एम्बुलेन्स ४६ वटा रहेका छन् ।
सो अवसरमा जिल्लाका १३ स्थानीय तहका १३५ वटा वडाहरु मध्ये पाँचखाल नगरपालिकाको वडा नम्बर ४ बाहेक सबै १३४ वटा वडामा स्वास्थ्य संस्था रहेका कार्यक्रममा कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । ती वडाहरुमा १६८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मापदण्ड अनुसारका स्वास्थ्य संस्थाका भवनको संख्या ९२ रहेको र ४४ वटा स्वास्थ्य संस्थामा २४ सै घण्टा सेवा संचालन भइरहेका उनको भनाई छ ।
कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि न्यौपानेले कार्यालयको समग्र प्रगति सन्तोषजनक रहेकाले आगामी दिनमा थप प्रगतिको कामना गर्दै संचारकर्मीका तर्फबाट हुने सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लामा सक्रिय संचारकर्मीहरुको सहभागिता रहेका कार्यक्रममा स्वास्थ्य अवस्थामा सुधार ल्याउन तीनै तहका सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा श्रेष्ठको जोड थियो ।
पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस