राष्ट्रिय विभूति भृकुटीको जन्मस्थल पनौती नगरपालिका–१० खोपासीमा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ पौष २३, बुधबार (६ दिन अघि)
  • ९० पटक पढिएको

राष्ट्रिय विभूति भृकुटीको जन्मस्थल पनौती नगरपालिका–१० खोपासीमा

ऐतिहासिक ‘भृकुटी जन्मघर’ को लिच्छवीकालीन संरचनामा निर्माण थालनी

काभ्रे । नेपालको इतिहासकी सुप्रसिद्ध पात्र तथा राष्ट्रिय विभूति भृकुटीको जन्मस्थल काभ्रेको पनौती नगरपालिका–१०, खोपासीमा ऐतिहासिक ‘भृकुटी जन्मघर’ लिच्छवी कालिन संरचनामा निर्माणको प्रक्रिया सुरु भएको छ ।
बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले यस महत्वपूर्ण परियोजनाको अवधारणा गत पौषमै पनौती नगरपालिका सभा भवनमा भएको बृहत कार्यशालामा सार्वजनिक गर्नुभएको थियो ।
यसरी निर्माण गरिने भृकुटी जन्मघर लिच्छविकालीन वास्तुकला र शैलीमा आधारित हुनेछ । यसमा ढुङ्गा, इँटा र काठको प्रयोग गरिनेछ भने झिँगटीको छाना र बुट्टेदार टुँडालहरूले यसलाई ऐतिहासिक स्वरूप दिनेछन्  । परियोजनाअन्तर्गत मुख्य भवनका अतिरिक्त भृकुटी पार्क, भृकुटीको शालिक, ढुङ्गेधारा, पाटी, पोखरी र स्तूपहरू समेत निर्माण गरिने योजना छ ।
परामर्शदाता ‘कृष्णा इन्जिनियरिङ एण्ड डिजाइन कन्सल्टेन्सी’ ले तयार पारेको विवरण अनुसार यस परियोजनाको कुल अनुमानित लागत भ्याटसहित करिब २५ करोड ५५ लाख ६४ हजार ४०४ रुपैयाँ रहेको छ ।
परामर्शदाता कृष्णा इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागतसम्बन्धी अध्ययन गर्नु भएको हो ।
ऐतिहासिक पृष्ठभूमि
इतिहास अनुसार, सातौँ शताब्दीको लिच्छविकालमा राजा उदय देव आफ्नो भाइ ध्रुव देवसँग सत्ता संघर्षमा पराजित भएपछि रानी भद्रावती र १० बर्षे छोरा नरेन्द्र देवसहित मानगृहबाट निस्किएर काठमााण्डौको लगन स्थित ससुराली घर मञ्जुश्री टोलमा बसे जहाँ भृकुटी भद्रावतीको गर्भमा आईन । त्यहाँबाट तिन जनाको परिवार पाटन, भक्तपुर हुँदै सुरक्षाको दृष्टिकोणले पहिले अंशुबर्माबाट राजपाठ सिक्न बसेको स्थान हाल खोपासीको पाङ्गेंटोल स्थित अंशुबर्माको निवासमा निर्वासित भए । सोही निर्वासनका क्रममा सन् ६२४ मा भृकुटीको जन्म भएको थियो ।
भृकुटीले तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गरी नेपाल–तिब्बत सम्बन्धलाई मजबुत बनाएकी थिइन् । भृकुटीले तिब्बत जाँदा आफूसँगै बुद्धका मूर्ति र शास्त्रहरू लगेर त्यहाँ बौद्ध धर्म र नेपाली कलाको प्रचार–प्रसारमा ठूलो योगदान दिएकी थिइन्, जसका कारण उनलाई चीनका साथ संसारमा ‘हरित तारा’ को रूपमा पुजिन्छ ।
पर्यटन र सांस्कृतिक महत्व
खोपासी क्षेत्रलाई सांस्कृतिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ यो परियोजना अघि बढाइएको हो । यसको निर्माणले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्ने र स्थानीय आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने दुईमत हुने छैन । भृकुटीको जन्म विसं ६८१ (सन् ६२४) माघ १ गते मकर सङ्क्रान्तिको दिन निर्वासित राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको विभिन्न अध्ययनले पुष्टि गरेको भृकुटी स्मृति प्रतिष्ठानका अध्यक्ष विश्व उलकले जानकारी दिनु भयो ।
प्रतिष्ठानका अध्यक्ष उलकका अनुसार लिच्छवीकालीन मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै वुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघरको निर्माण खोपासीस्थित नृसिंह मठ परिसारमा सुरु गरिनेछ । बागमती प्रदेश सरकारले यस स्थललाई लिच्छविकालीन दरबारको झल्को दिने गरी विकास गर्ने लक्ष्य राखेको छ, जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि खोपासी एक प्रमुख आकर्षणको केन्द्र बन्ने देखिन्छ ।  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि एक करोड रुपैँया विनियोजन गरेको छ ।
ऐतिहासिक ‘भृकुटी जन्मघर’ निर्माणको प्रक्रियामा प्रमुख भूमिका खेलेको भृकुटी स्मृति प्रतिष्ठानले पनौती नगरपालिका, ईतिहासका ज्ञाताहरुका साथै सरोकारवाला संघ/संस्थाहरुसँग यसबारेमा निरन्तर छलफल र अन्तरक्रिया थालेको छ । पनौती नगर प्रमुख रामशरण भण्डारीले कार्यशालाको अध्यक्षता  गर्नु हुँदै पनौती शहर नमःबुद्धको जन्मस्थान र खोपासी शहर भृकुटीको जन्मस्थान भएकाले दुबै क्षेत्रको महिमालाई संसारसामु उजागरका लागि नगरपालिका प्रयत्नशील रहेको बताउनु भयो । पनौती-१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले परियोजनाअन्तर्गत मुख्य भवनका अतिरिक्त भृकुटी पार्क, भृकुटीको शालिक, ढुङ्गेधारा, पाटी, पोखरी र स्तूपहरू समेत निर्माण भएपछि वडामात्रै नभई राजधानीनिजकैको सिङ्गो दक्षिणी भेग नै पर्यटकीय थलो बन्ने कुरामा दुई मत नभएको दाबी गर्नु भयो ।
कार्यक्रममा ईतिहासका अध्येता अनुसन्धानकर्ता एव‌ं प्रबुद्ध व्यक्तित्वहरु प्रा.डा. सोमप्रसाद खतिवडाले यस्ता महान व्यक्तित्वको जन्मघर बनाउनु नेपालीको गौरवको विषय रहेको बताउनु भयो । यस्तै अर्का प्रा.डा. मदनकुमार रिमालले नेपालमा लिच्छवीकालिन संरचना नभएको र भृकुटी जन्मघर बन्दा विश्वमा एउटा नमुना संरचना तयार हुने आशा गर्नु भयो । यस्तै ईतिहासका अध्येता अनुसन्धानकर्ताहरु प्रा.निर्मला पोखरेल, उप-प्रा.उत्तरा खनाल र उप-प्रा.डा. दिपेन्द्रबिक्रम सिँजापतीले पनि भृकुटीको जन्मघर निर्माणले अधुरो इतिहासले पूर्णता पाउने विश्वास दिलाउनु भयो ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस