
काठमाडौँ । पछिल्ला दिन भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको खबरले एक पटक सबैलाई झस्काएको छ । तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बनेका छन् ।
उमेर ढल्केपछि हृदयाघात हुन सक्छ भन्ने पढाई र भोगाइबाट गुज्रेका आम नेपालीका लागि ४२ वर्षमै हृदयाघातको समाचारले झस्काएको मात्रै नभई तथ्यांकले पनि नेपालमा कुल बिरामीमध्ये करिब ७१ प्रतिशत नसर्ने रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । क्यान्सर, मुटु रोग, मधुमेह, उच्च रक्तचाप तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगजस्ता नसर्ने रोग ‘एनसिडी’ हरू मुलुकको प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार नसर्ने रोगको बढ्दो बोझको मुख्य कारण जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिएको छ । असन्तुलित खानपान, धूम्रपान तथा मदिरा सेवन, शारीरिक निष्क्रियता, मोटोपन र मानसिक तनावले नसर्ने रोगको जोखिम उल्लेख्य रूपमा बढाएको उनीहरूको निष्कर्ष छ। सहरीकरणको तीव्र विस्तारसँगै शारीरिक श्रम घट्दै जानु र प्रशोधित तथा फास्ट फुडको प्रयोग बढ्नुले समस्या झनै गम्भीर बन्दै गएको बताइन्छ ।
नसर्ने रोगले व्यक्तिको स्वास्थ्यमा मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पारिरहेको छ । दीर्घकालीन उपचार, महँगो औषधि, अस्पताल भर्ना र शल्यक्रियामा हुने खर्चका कारण धेरै परिवार आर्थिक संकटमा पर्ने गरेको तथ्यांकहरूले देखाएका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार नसर्ने रोगकै कारण हरेक वर्ष ठूलो संख्यामा परिवार गरिबीको रेखामुनि धकेलिने अवस्था सिर्जना भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नसर्ने रोगको उपचारमा राज्यले ठूलो रकम खर्च गरिरहे पनि रोकथामका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउनुभएको छ । उहाँका अनुसार हालको स्वास्थ्य खर्च संरचना उपचारमुखी बन्दै गएको छ । “सरकारले नसर्ने रोगको उपचारमा धेरै रकम खर्च गरिरहेको छ, त्यसमा धेरैजसो रकम रोकथामको सट्टा उपचारमै खर्च भइरहेको अवस्था छ,” मन्त्री डा. गौतमले भन्नुभयो, “क्यान्सर र मुटु रोगजस्ता रोगहरूको उपचारमा वार्षिक अर्बौं रुपैयाँ खर्च हुने गरेको छ, अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।”
नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्व एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै डा. गौतमले रोकथाममा केन्द्रित नीति तथा कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँका अनुसार स्वस्थ जीवनशैली प्रवद्र्धन, नियमित स्वास्थ्य परीक्षण, धूम्रपान तथा मदिरा सेवन नियन्त्रण, पोषणसम्बन्धी सचेतना र शारीरिक गतिविधि बढाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नसर्ने रोगको भार घटाउन सकिन्छ ।
सरकारले नसर्ने रोग नियन्त्रणका लागि विभिन्न नीति, रणनीति तथा कार्ययोजना अघि सारे पनि ती कार्यक्रमको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ। विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षा समावेश गर्ने, समुदायस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने तथा स्थानीय तहको भूमिका सशक्त बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
नेपालले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको २०१४–२०२० को बहु–क्षेत्रीय कार्ययोजनामार्फत सन् २०२५ सम्मका राष्ट्रिय लक्ष्यहरूसँग आफूलाई समायोजन गर्ने प्रतिबद्धता जनाएको छ । यसअन्तर्गत दुई प्रमुख स्वास्थ्य सेवा लक्ष्य हासिल गर्ने उद्देश्य राखिएको छ, ८० प्रतिशत स्वास्थ्य संस्थामा आवश्यक नसर्ने रोगसम्बन्धी औषधि र प्रविधि उपलब्ध गराउने तथा औषधि उपचार र परामर्श आवश्यक पर्ने उच्च जोखिम समूहका ५० प्रतिशत जनसंख्यालाई सेवा प्रदान गर्ने । साथै, नेपाल सरकारले सबै स्वास्थ्य संस्थाबाट नसर्ने रोगसम्बन्धी सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य समस्या नदेखिने महामारीका रूपमा देखापरेको बताउनुभयो । उहाँले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यानजस्ता रोकथामका उपायहरूलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पु¥यारहेको बताउनुभयो । डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोगको रोकथामका लागि सरकारले बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो । नसर्ने रोग ‘एनसिडी’ एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको रोकथाम गर्न राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भारत श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्याण्ड, म्यान्मार, मलेसिया जेनेभालगायत ११ देशमा नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्को सहभागी रहेको छ ।
स्वास्थ्यकर्मीहरूले नागरिक स्वयं पनि आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । नियमित स्वास्थ्य जाँच गर्ने, स्वस्थ तथा सन्तुलित आहार अपनाउने, दैनिक कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गर्ने, तनाव व्यवस्थापन गर्ने र हानिकारक बानी त्याग्ने हो भने धेरै हदसम्म नसर्ने रोगबाट बच्न सकिने उनीहरूको भनाइ छ । नसर्ने रोगको बढ्दो चुनौतीले उपचारमुखी सोचभन्दा रोकथाममुखी स्वास्थ्य प्रणाली अपरिहार्य भएको संकेत गरेको छ । राज्य, समाज र नागरिकको संयुक्त प्रयासबाट मात्र दीर्घकालीन रूपमा स्वस्थ नेपाल निर्माण सम्भव हुने निष्कर्ष स्वास्थ्य क्षेत्रका विज्ञहरूले निकालेका छन् ।
बेथानचोक साप्ताहिकबाट ।