
धुलिखेल । विश्व क्यान्सर दिवसको अवसर पारेर बुधबार पूर्वी नेपालको चिवाभन्ज्याङदेखि पश्चिम झुलाघाटसम्मको १८ सय किलोमिटरको साहसिक साइकल यात्रा समापन गरिएको छ । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी लोकमार्ग हुँदै गरिएको यो साइकल यात्रा केवल दूरी पार गर्ने अभियानमात्रै रहेन, क्यान्सर पीडितको पीडा बुझ्ने, आशा बाँड्ने र सहयोगको आधार तयार गर्ने मानवीय प्रयासका रूपमा स्थापित भयो ।
यो साहसिक यात्रा क्यान्सर जितेका दुई बिरामी—हर्क लामा र कविता चित्रकारको अनुभव र परिकल्पनाबाट जन्मिएको हो । क्यान्सरको उपचारका क्रममा अस्पतालमा भर्ना हुँदा आफूले र आफ्ना परिवारले भोग्नुपरेको आर्थिक, मानसिक र सामाजिक पीडाले उनीहरूलाई एउटा साझा सपना देखायो—क्यान्सर पीडितका लागि सहयोग कोष स्थापना गर्ने । यही साझा सपनाले एउटा बलियो कोषसमेत स्थापना भएको छ ।
धुलिखेल अस्पतालको अडिटोरियमा भावुक हुँदै साइकल यात्री हर्क लामाले भने, ‘क्यान्सर भएर उपचारका लागि अस्पताल बस्दा बिरामी र आफन्तले रकम अभावका कारण झेल्नुपर्ने सास्तीलाई कसरी कम गर्न सकिन्छ भन्ने सोचबाट यो यात्रा जन्मिएको हो । मेरो सपनालाई धुलिखेल अस्पताल, यहाँका चिकित्सक तथा विभिन्न निकायको सहयोगले साकार बनायो, जसका कारण चिवाभञ्ज्याङदेखि झुलाघाटसम्मको यात्रा सम्भव भयो ।’ एक महिनासम्म चलेको यो यात्राले पहाड, उकालो–ओरालो र मौसमका चुनौती मात्र सामना गरेन, समाजमा रहेको क्यान्सरप्रितको डर र मौनतालाई पनि चुनौती दिएको उनको भनाई थियो ।
अर्का साइकल यात्री कविता चित्रकार, स्तन क्यान्सरको तेस्रो चरणलाई परास्त गरेकी आँटिली महिला । उनले पनि साइकलको पैडल खियाउँदै उकालो र ओरालो झर्दाखेरी भर्खरैमात्रै सर्जरी गरिएको घाउ चरक्क हुँँदा यात्रा नै त्यागौं कि भन्ने लागेको सुनाइन् । ‘तर पनि ती तमाम क्यान्सर पीडित दिदीबहिनीहरु सम्झँदै उनीहरुमा हौसला बढ्न पनि मैले यात्रा पुरा गर्नैपर्छ भन्ने अठोट लिएँ । जति दिन बाँचिन्छ खुशीले बाँच्नु पर्छ, कोठामा गुम्सिएरमात्रै हुन्न भन्ने पनि सन्देश दिनु थियो । त्यो भन्दा बढी बेलैमा क्यान्सर पहिचान भएमा निको हुन्छ भन्ने पनि सन्देश दिनु थियो । पूर्वदेखि पश्चिमसम्म हामीले यो सन्देश छर्न सक्यौं’’ उनले थपिन् । साइकल यात्री हर्क लामा र कविता चित्रकारले भने, ‘क्यान्सर जित्न सकिने रहेछ भन्ने आत्मविश्वास यो यात्राले अझ बलियो बनायो ।’
नेपालमा क्यान्सर अझै पनि धेरैका लागि नबोलिने रोग हो । विशेषगरी महिलामा देखिने पाठेघरको मुखको क्यान्सरको समयमै जाँच र उपचार भए पूर्ण रूपमा नियन्त्रणयोग्य हुँदाहुँदै पनि लाज, जानकारीको अभाव र सेवा पहुँच नहुँदा धेरैले ज्यान गुमाइरहेका छन् । यही यथार्थबाट जन्मिएको थियो यो साइकल यात्रा—सचेतना, सहानुभूति र सहयोगको सेतु बन्ने उद्देश्यसहित । यात्राका क्रममा सर्भाइकल, स्तन तथा अन्य क्यान्सरबारे प्रारम्भिक जाँच, लक्षण पहिचान र उपचारको महत्वबारे स्थानीय भाषामा संवाद हुन्थे । साइकल रोकिन्थ्यो, तर संवाद रोकिन्थेन ।
यात्रामा सहभागी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारका अनुसार, यात्राका क्रममा १५ स्थानमा दुई हजारभन्दा बढी मानिसहरूसम्म प्रत्यक्ष रूपमा क्यान्सर रोगसम्बन्धी सचेतना फैलाउन सकियो । पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरलगायत अन्य क्यान्सरका लक्षण, प्रारम्भिक परीक्षण र समयमै उपचारको महत्वबारे स्थानीय समुदायसँग खुला संवाद भएका थिए । हाडजोर्नीका चिकित्सक डा. विकास पराजुलीले यात्राका क्रममा देखिएका सामाजिक यथार्थ, पीडितका अनुभव र समुदायको आत्मीय सहयोगबारे आफ्ना अनुभूति साझा गरे ।
समापन समारोहमा धुलिखेल अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकजुले जीवन र सेवाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे । ‘नेपालका लागि मैले के पाएँ भन्नेभन्दा पनि के गर्न सकेँ भन्ने सोच आवश्यक छ । संख्या होइन, सोच बलियो हुनुपर्छ । असहज अवस्थाबाट बाँच्न र अरूलाई बाँच्न प्रेरित गर्ने यस्ता गतिविधिले नै मानिसलाई खुशी बनाउँछ,’ उनले थपे । क्यान्सरजस्तो प्राणघातक रोग जितेर साहसिक साइकल यात्रा सम्पन्न गरेकोमा उनले सहभागीहरूलाई धन्यवादसमेत व्यक्त गरे ।
सोही अवसरमा कोष संकलनसम्बन्धी विवरण साइकल कल्चर कम्युनिटीका अध्यक्ष डा. तारालाल श्रेष्ठले प्रस्तुत गरेका थिए । साइकल कल्चर कम्युनिटीमार्फत संकलित रकम हर्क लामा, कविता चित्रकार, डा. तारालाल श्रेष्ठ र ज्ञानेन्द्र स्थापितद्वारा धुलिखेल अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । साइकल यात्रामा स.कलित कूल रकम २० लाख २५ हजार २ सय २५ रुपैँया धुलिखेल अस्पतालालई हस्तान्तरण गरियो । अस्पतालका प्रशासकीय प्रमुख डा. विराजमान कर्माचार्यले संकलित रकम बराबर थप सहयोग अस्पतालले गर्ने प्रितबद्धता जनाए । ‘धुलिखेल अस्पताल सबै बिरामीका लागि सेवा गर्न तत्पर छ । क्यान्सरजस्तो गम्भीर रोगका बिरामीहरूको उपचारमा अस्पताल सधैं साथमा रहनेछ,’ उनले भरोसा दिलाए ।
सो अवसरमा साइकल यात्रामा सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरियो । यात्राका अनुभवहरू भिडियो प्रस्तुतिमार्फत देखाइएका थिए । मध्यपहाडी लोकमार्ग साइकल अभियानको उद्देश्य र भावी योजनाबारे डा. विकास पराजुलीले जानकारी गराए भने यस्ता साहसिक र मानवीय अभियानलाई निरन्तरता दिन प्रा. डा. रामकण्ठ माकजुले आग्रह गरे । कार्यक्रमको समापन सन्देश स्पष्ट थियो—‘पैडल रोकिएको होला, तर क्यान्सर पीडितको पक्षमा उठेको आशाको यात्रा अझै जारी छ ।’
बेथानचोक साप्ताहिकबाट ।