
काभ्रे । झार गोड्ने दुःख, बारम्बार सिँचाइ गर्नुपर्ने बाध्यता र अनिश्चित मौसमको भर पर्दै आएको परम्परागत आलु खेती अहिले काभ्रेली किसानका लागि एउटा लाभकारी कृषि व्यवसायमा रूपान्तरण भइरहेको छ । राष्ट्रि«य कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई सिन्धुपाल्चोकको सहयोगमा उन्नत प्रविधियुक्त आलुको क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत किसानहरूले पछिल्ला वर्षहरूमा प्लास्टिक मल्चिङ प्रविधि अपनाउन थालेका छन् । यस्तै, बीउ आलु आत्मनिर्भर कार्यक्रमअन्तर्गत उन्नत बीउको प्रयोगमा बढावा दिन थालेपछि आलु खेती अहिले आम्दानीको भरपर्दो मेरूदण्ड बन्दै गएको छ ।
‘पहिला परम्परागत तरिकाले खेती गर्दा एक रोपनीमा मुस्किलले ६–७ बोरा मात्रै आलु निस्किन्थ्यो,’ खोपासी भू–मित्र कृषक समूहकी कोषाध्यक्ष सबिना पहरी भन्छिन््, ‘गत वर्ष मल्चिङ गरेपछि उत्पादन ह्वात्तै बढेर १० बोरासम्म पुग्यो । उत्पादकŒव मात्रै बढेन, झार गोड्ने झन्झट पुरै हट्यो र पानीको बचत पनि उत्तिकै भयो ।’ मल्चिङ प्रविधिबाट उत्पादित आलु सफा, ठुला र एकनासे हुने भएकाले बजारमा व्यापारीहरूले पनि खोजी–खोजी राम्रो मूल्य दिने गरेका उनको अनुभव छ ।
यस्तै, मल्चिङ प्रविधिले गाउँका महिला किसानहरूको दैनिकीमा ठूलो सकारात्मक प्रभाव पारेको देखिन्छ । मल्चिङ प्रविधिलाई महिलामैत्री प्रविधिको रूपमा व्याख्या गर्छिन् सबिना । ‘आलु खेतीमा सबैभन्दा गाह्रो काम नै झार गोड्नु हुन्थ्यो । मल्चिङ गरेपछि त्यो झन्झटिलो काम झन्डै शून्यमा झरेको छ । समय बचेपछि अहिले हामीले अरू तरकारी खेती र घरधन्दा पनि सम्हाल्न सकेका छौं ।’
माटोमाथि ओढाइने खरानी रङ्गका प्लास्टिकले आलु उत्पादन मात्रै होइन, किसानको समय, श्रम र खर्च तीनै कुरा बचत गरिदिएको छ । असमयको वर्षा, चिसो र सुख्खापन बढ्दै जाँदा आलु खेती जोखिमपूर्ण बन्दै गएको छ । मल्चिङले माटोको तापक्रम सन्तुलनमा राख्ने भएकाले बिरूवा बलियो हुने र रोग कम लाग्ने किसानहरूको अनुभव छ । कृषि प्राविधिकहरूका अनुसार मल्चिङले माटोको चिस्यान लामो समय जोगाउने भएकाले सिँचाइ खर्च ३०–४० प्रतिशतसम्म घट्ने गरेको छ । मल पनि बगेर नजाने भएकाले उत्पादन अझ राम्रो हुने देखिएको छ ।
पनौती नगरपालिका–७ का किसान देवकृष्ण मानन्धर यस परिवर्तनका एक साक्षी हुन् । तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपरजोनको सहयोगमा उनले केही वर्षअघि परीक्षणका रूपमा आलु खेतीमा मल्चिङ प्रविधि प्रयोग गरेका थिए । अहिले नियमित रूपमै यो प्रविधिको भरपूर उपयोग गरिरहेका छन् । उनीमात्रै होइन, पनौती हुँदै रोशी खोला तरेर खोपासी जाने क्रममा बाटो मुनि र माथिका अधिकांश फाँट मल्चिङले ढाकिएका देखिन्छन् । कृषि प्राविधिकहरूका अनुसार प्लास्टिक मल्चिङले माटोको चिस्यान उडेर जान दिँदैन, जसले गर्दा सिँचाइको आवश्यकता ५० प्रतिशतसम्म घट्छ । साथै, प्लास्टिकभित्रको मल सिधै बिरूवाको जराले सोस्न पाउने हुनाले मलको सदुपयोग हुन्छ । आलुमा डढुवा जस्ता रोगहरूको प्रकोप पनि कम हुने र बिरूवा स्वस्थ रहने देखिएको छ ।
नेपालमा गरिएको हालैको एक कृषि अनुसन्धानले पनि मल्चिङ प्रविधिको प्रभावकारितालाई पुष्टि गरेको छ । अनुसन्धानका अनुसार मल्चिङ नगरिएको खेतको तुलनामा मल्चिङ प्लास्टिक प्रयोग गरिएको खेतमा व्यावसायिक आलुको उत्पादन उल्लेखनीय रूपमा बढी पाइएको छ । यस्तै, अध्ययनले मल्चिङले माटोमा उपलब्ध फस्फोरस जस्ता पोषक तत्वहरूको संरक्षण गर्छ र मललाई बगेर जानबाट जोगाएको उल्लेख छ । जसले माटोको उर्वराशक्तिलाई बढाएको छ । अनुसन्धानले देखाएअनुसार मल्चिङ प्रविधिको प्रयोग गर्दा लगानी र लाभको अनुपात निकै राम्रो देखिएको छ । खासगरी व्यावसायिक मल्चिङ प्लाष्टिकको प्रयोगले किसानलाई खर्चको तुलनामा दोब्बरभन्दा बढी फाइदा सुनिश्चित देखिएको अध्ययनले बोल्छ ।
राष्ट्रि«य कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख सुरेन्द्रप्रसाद पोखरेल भन्छन्, ‘काभ्रेपलाञ्चोक जिल्लाको भौगोलिक विशिष्टता र आलु उत्पादनको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै, स्थानीय स्तरमा रोगमुक्त, उन्नत र उच्च उत्पादनशील बीउ आलुको उत्पादन तथा वितरणलाई प्रवद्र्धन गर्न कार्यक्रमले मद्दत गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पनि उन्नत प्रविधियुक्त आलुको क्षेत्र विस्तार र बीउ आलु आत्मनिर्भर कार्यक्रमलाई जोड दिइएको छ । यसअन्तर्गत किसानहरूले प्लाष्टिक मल्चिङलाई औधी रूचाएका छन्’, उनले थपे ।
सुरूमा प्लास्टिक खरिद गर्दा केही बढी खर्च लागे पनि किसानहरू यसलाई दीर्घकालीन ‘लगानी’ का रूपमा हेर्न थालेका छन् । झार गोड्न लाग्ने ज्याला र पटक–पटक दिनुपर्ने सिँचाइको खर्च कटौती गर्दा प्लास्टिकको लागत सजिलै उठ्ने किसानहरुको भनाई छ । कार्यक्रममार्फत मल्चिङ प्रविधि र उन्नत र उच्च उत्पादनशील बीउ आलुको उत्पादन तथा वितरणलाई प्रवद्र्धनले आलु खेतीलाई केवल गुजाराको माध्यमबाट नाफामुखी व्यवसायतर्फ मोडिदिएको छ । खेतबारीमा ओढाइएको प्लाष्टिक र हातमा थामिएको उन्नत बीउ अहिले काभ्रेली किसानका लागि समृद्धिको नयाँ आधार बनेको छ ।
प्लाष्टिक मल्चिङ प्रयोगबारे वातावरणीय हिसाबले केही मतान्तर देखिएको पनि छ । प्राविधिक जोन इकाई काभ्रेकी प्रमुख शृणुकुमारी झा भन्छिन्, ‘हामीले फिल्डमै गएर किसानहरूलाई मल्चिङ तरिका सिकाएका मात्रै छैनौं । आलु उत्पादनोपरान्त मल्चिङ गरिएको प्लाष्टिकलाई पुनप्र्रयोग गर्न मिल्ने गरी निकाल्न या निकाल्ने क्रममा खेर गइहालेमा उचित तरिकाले व्यवस्थापनका लागि समूह, सहकारी र कृषकहरूलाई आग्रह गरेका छौं । यस वर्ष हामी किसान तहमै पटक–पटक पुगेर यसको प्रभावकारिता र उत्पादकत्वबारेमा अध्ययन गर्ने योजनामा छौं’, उनले थपिन् ।
पलाञ्चोक साप्ताहिकबाट ।