
काभ्रे । भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा जिल्लाकै पहिलो र पुरानो बनेपा नगरपालिकाको बसपार्कस्थित प्रशासनिक भवन तोडफोड र आगजनीमा ध्वस्त भयो । घटनामा १० करोड रुपैँया बराबरको क्षति भएको नगरपालिकाले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ ।
घटनालगत्तै बसपार्ककै एउटा कुनामा रहेको शहरी स्वास्थ्य केन्द्रमा केही दिन नगर कार्यपालिकाको कार्यालय चल्यो । सेवाग्राहीहरुसँगै सो स्थानमा कार्यपालिकाका सदस्यहरुसमेत बस्न असहज भएपछि वैकिल्पक ठाउँ खोज्न थालियो । बुडोल उकालोमा भएको नगरपालिकाको भवन पनि यातायात व्यवस्था कार्यालय बसेकाले त्यहाँ सर्न सम्भव भएन ।
त्यस्तैमा नगरप्रमुख, उपप्रमुख, वडा नं. ५ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतले तत्कालका लागि जुगाडको उपाय निकाले, ‘नेपाल–बनेपा बहुप्राविधिक शिक्षालयको दुई वटा भवनबाट नगरपालिकाको सेवा प्रवाह गर्ने’ । वडाअध्यक्ष बलराम अधिकारीका अनुसार कोभिड–१९ को महामारीका बखत त्यहीँको स्थान र भवनहरु उपयोग गरिएको थियो । त्यही सम्बन्धका आधारमा अहिले पनि केही समय नगर कार्यपालिकाको कार्यालय सञ्चालन गर्न शिक्षालयबाट सहयोग पाइएला भन्ने जनप्रतिनिधिहरुको अपेक्षा थियो । तर, त्यो अपेक्षाले मूर्त रुप लिन पाएन ।
तत्कालीन शिक्षालय प्रमुखसँग केही अवधिका लागि नगर कार्यपालिकाको कार्यालय सञ्चालनका निम्ति एउटा प्रशासनिक भवन र त्यससँगैको अर्को भवन उपलब्ध गराइदिन नगरप्रमुख शान्तिरत्न शाक्यसहितका जनप्रतिनिधिहरुले छलफल आरम्भ गरे । तर, तत्कालीन शिक्षालय प्रमुखले भवन दिन ठाडै इन्कार गरेबाट शिक्षालय र नगरपालिकावीचको सम्बन्ध बिग्रँदै गयो ।
नगर प्रमुख शाक्यसहितका जनप्रतिनिधिहरु नगरपालिकाको नियमित कार्य सुचारु गर्न उपयुक्त भवनको खोजीकै क्रममा महिनौं भौंतारिनु प¥यो । नगरपालिकाको अन्यत्र भवन नभएकाले बाध्य भइ साविकको उग्रतारा जनागालको भवन(हाल वडा नं. १० को कार्यालय) मा सारिएको छ । साँघुरो ठाउँ भएकाले नगरपालिकाले गाडी पार्किङलगायत काममा असुविधा व्यहोर्नु परेको बताएको छ । यसले सेवाग्राहीलेसमेत सास्ती भोग्नु परेको बताउन थालेका छन् ।
हालका मेयर शाक्य वडा अध्यक्ष भएकै बखत नगरपालिकाले वार्षिक बजेट अन्यत्र खर्च नगरी शिक्षालय रहेको ठाउँको जग्गा किनेको थियो । आजाद स्कूलको केही जग्गा र भवन, आजाद बहुद्देश्यिय जेसिज हलको भवन पनि शिक्षालय बन्ने क्रममा मासिएका थिए । अहिले पनि शिक्षालयका भवनहरु बनेको र अन्य पूर्वाधारहरुले चर्चेको ५२ हजार वर्गमीटर(१ सय २ रोपनी) जग्गाको स्वामित्त्व (लालपुर्जा) बनेपा नगरपालिकासँग रहेको छ ।
मेयर शाक्य भन्छन्, ‘जग्गाधनीलाई आपतविपत् आइलाग्दा केही समय बस्न देउ भनेको हो । सधैंलाई देउ भनेको थिएन । हामीलाई ‘कि शिक्षालय बस्छ, कि नगरपालिका बस्छ भन्दै केहीगरी भवन दिनु प¥यो भने त विद्यार्थी पठाएर नगरपालिका घेर्न लगाउनेसमेत तत्कालीन शिक्षालय प्रमुखले ध्वाँस दिए,’ उनले घटना सुनाए । मेयर शाक्यले यो कुरा नगर कार्यपालिकाको बैठकमा पनि राखे । पुष मसान्तको नगरसभाले त एकल निर्णय गरेरै हामी (जग्गाधनी) लाई आपतविपत परेका बेला अस्थायी रुपमा समेत साथ नदिने कार्यालय किन चाहियो भन्नेमा एकमत भएको देखिन्छ ।
नगरपालिकाले शिक्षालयलाई लेखेको पत्रमा ‘बनेपा नगरपालिका नगरसभाको मिति २०८२ पौष ३० गते बुधबार बसेको १७औं अधिवेशनबाट बनेपा नगरपालिका ५ नं. वडा अन्तर्गत संचालनमा रहेको श्री नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेका भवनहरू र शिक्षालयले चर्चेको सम्पूर्ण जग्गा बनेपा नगरपालिका मातहत ल्याई सो स्थानमा बनेपा नगर कार्यपालिकाको कार्यालय संचालन गर्ने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएकोले आगामी शैक्षिक सत्रदेखि तहाँ शिक्षालयमा संचालन हुने पठनपाठनको कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा संचालनको व्यवस्था मिलाई सो ठाउँ खाली गरिदिनु हुन अनुरोध छ’, मेयर शाक्यकै हस्ताक्षरमा सो पत्र पठाइएको छ ।
बढ्दो प्रशासनिक जिम्मेवारी, सेवाग्राहीको चाप र स्थानीय सरकारलाई प्रभावकारी बनाउने आवश्यकता अनुसार पर्याप्त भौतिक संरचनाको अभाव देखिएपछि उक्त निर्णय लिइएको नगरपालिकाले बताएको छ । नगरपालिकाबाट हालैमात्रै सेवानिवृत्त एक कर्मचारी लेख्छन्, ‘बहुप्राविधिक शिक्षालयको आवश्यकता र औचित्यता भएकै कारण मित्रराष्ट्र चीनले महत्त्व दिएर सो पूर्वाधार तयार भएको हो । सो प्रयोजनमा बनेपा नगरले आफ्नो वार्षिक बजेट नै जग्गा व्यवस्थापनमा लगाएर उक्त प्रतिष्ठान बनेपामा बन्न सफल भएको हो । तसर्थ सो समयको पुनित उद्देश्य प्राप्ति बाहेकमा अवश्य प्रयोग हुन्न भन्ने अपेक्षा राख्न पर्छ ।’ स्थानीय सरकारको प्रशासनिक आवश्यकता र प्राविधिक शिक्षाको दिगोपनाबीच सन्तुलन कायम गर्नु अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको छ ।
तत्कालीन शिक्षालय प्रमुख यसैवीचमा सरुवा भए । हालैमात्र आएका शिक्षालय प्रमुख रोहित दाहालले नगरपालिकाले पठाएको पत्रलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा पठाइएको बताए । शिक्षालयका सूचना अधिकारी एवं लेखा अधिकृत बेदप्रसाद न्यौपानेले यतिखेर शिक्षालयमा लामो अवधिको पढाइमा र छोटो अवधिका तालिमहरुमा गरी ६ सय १ जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए ।
नेपाल–बनेपा बहुप्राविधिक शिक्षालयको स्थापना सन् २००८ (वि.सं. २०६५) मा प्राविधिक तथा व्यावसायिक शिक्षालाई सहज, सुलभ र गुणस्तरीय बनाउने उद्देश्यका साथ नेपाल सरकार तथा चीन सरकारको सहयोगमा भएको हो । शिक्षालयमा हाल पाँचवटा लामो अवधिका डिप्लोमा कार्यक्रमहरू सूचना प्रविधि, विद्युत् इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, जियोम्याटिक्स इन्जिनियरिङ र होटल व्यवस्थापन समावेश छन् । यी कार्यक्रमहरू प्राविधिक शिक्षामा दक्ष, सक्षम र रोजगारोन्मुख जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गरिएका हुन् ।
पलाञ्चोक साप्ताहिकबाट ।