अब २४ घण्टाभित्रै लाइसेन्स: मन्त्री तिमिल्सिना

लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८३ बैशाख ४, शुक्रबार (१ महिना अघि)
  • २१८ पटक पढिएको

अब २४ घण्टाभित्रै लाइसेन्स: मन्त्री तिमिल्सिना

बनेपा/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गर्न निर्देशन दिएका हुन्। उनले लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए।
‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,’ मन्त्री तिमिल्सिनाले भने।
उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै विगतमा इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गरे। अब ती समस्या समाधान गर्दै अघि बढ्ने उनले बताए।
मन्त्री तिमिल्सिनाले अर्बौँ रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि प्रयोगविहीन रहेकोप्रति चिन्ता व्यक्त गर्दै तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिए। केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको उल्लेख गर्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए।
उनले नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न केन्द्रलाई निर्देशन दिए। साथै सेवा प्रवाहमा देखिएका गुनासाहरू छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले दीर्घकालीन रूपमा संस्थालाई बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार भइरहेको जानकारी दिए। उनका अनुसार भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने योजना छ। यसका लागि करिब आठ अर्ब रुपैयाँको विस्तृत योजना सरकारसमक्ष पेस गरिएको उनले बताए।
ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ। विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए। यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको पनि उनले बताए।
उक्त अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा. राम लामा र बदनकुमार भण्डारीलगायतले पनि केन्द्रको निरीक्षण गरेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस