सेवाबाट समाज रूपान्तरणका संवाहक १५ सय रोटरियनहरु पोखरामा जुट्दै

नेपालमा रोटरी अभियानको बिस्तारिँदो यात्रा
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८३ बैशाख ४, शुक्रबार (१ महिना अघि)
  • १४६ पटक पढिएको

सेवाबाट समाज रूपान्तरणका संवाहक १५ सय रोटरियनहरु पोखरामा जुट्दै

पोखरा । नयाँ वर्ष २०८३ को पहिलो साता अर्थात् आज शुक्रबारदेखि मुलुकभरिका १ हजार ५ सय भन्दा बढी रोटरियनहरु पोखरामा जुट्दैछन् । विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भुटान डिस्ट्रिक्ट ३२९२ को वाषर््िाक सम्मेलन आज शुक्रबारदेखि पोखरामा आयोजना हुन लागेको हो । ‘आफूभन्दा पहिले अरूको सेवा’ भन्ने मूल मन्त्र बोकेको रोटरी इन्टरनेशनलको अभियान नेपालमा सामाजिक रूपान्तरणको एक महŒवपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ । रोटरी क्लब अफ काठमाडौंकोे स्थापनासँगै नेपालमा रोटरीको अभियान सुरु भएको हो । यो क्लबले हालैमात्र आफ्नो स्थापनाको ६८ औं स्थापना दिवस(चार्टर डे) मनाएको छ ।

रोटरी अभियानको इतिहासमा एक महत्वपूर्ण उपलब्धिका रुपमा नेपालका रोटरियनहरुले १३ अप्रिल १९५९ लाई लिने गरेका छन् । सोही दिन नेपाल औपचारिक रूपमा विश्वव्यापी रोटरी परिवारमा आवद्ध भएको हो । यसै दिन रोटरी क्लब अफ काठमाडौं नेपालकै पहिलो रोटरी क्लबका रूपमा चार्टर भई स्थापना भएको थियो, जसले देशमा सेवा र सामुदायिक विकासको नयाँ युगको सुरुवात ग¥यो । रोटरी इन्टरनेशनलको विधान अनुसार धेरै समयसम्म यो सहित नेपालका सबै रोटरी क्लबहरु भारत कलकत्ताको डिष्ट्रि«क्ट ३२९० मातहत रह्यो । सन् २०१५÷१६ देखि नेपाल र भूटानका लागि छुट्टै रोटरी इन्टरनेशनल डिष्ट्रि«क्ट ३२९२ को स्थापना भएको हो ।

प्रारम्भमा सीमित सदस्य र सानो दायरामा केन्द्रित गतिविधिहरू अहिले व्यापक सञ्जालमा विस्तार भइसकेका छन् । हाल देशभर १ सय ६२ भन्दा बढी रोटरी क्लब सक्रिय छन्, जसमा ५ हजार ६ सय भन्दा बढी सदस्यहरु आवद्ध छन् । यी क्लबहरुले स्थानीय आवश्यकता अनुसार विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । रोटरीका कार्यहरू सतही रूपमा हेर्दा ‘सामाजिक सेवा’ जस्ता लाग्न सके पनि गहिरो रूपमा हेर्दा यो एक संरचित, रणनीतिक र दीर्घकालीन विकास अभियान भनिन्छ । समुदायलाई आफैं सक्षम बनाउने, युवालाई नेतृत्वमा ल्याउने, र विश्वलाई शान्तितर्फ लैजाने लक्ष्यसहित रोटरीले ‘सेवा’ लाई व्यवहारिक र दिगो परिवर्तनमा रूपान्तरण गरेको रोटरीका प्रशिक्षक एवं रोटरी क्लब अफ काभ्रे–बनेपाका पूर्व अध्यक्ष हिरा शर्मा नेपालको भनाई छ ।

रोटरीले आफ्ना सदस्यलाई काम गर्ने मानिसका रूपमा चिनाउँछ । यसको अर्थ—बैठक र छलफलभन्दा बढी, प्रत्यक्ष काम र परिणाममा जोड दिएको हो । यसैले विश्वभर हजारौँ परियोजनाहरू—विद्यालय, अस्पताल, खानेपानी योजना, शान्ति पहल—रोटरीमार्फत सञ्चालन भइरहेका छन् । रोटरीका क्लबहरू एउटा देशमा मात्र सीमित हुँदैनन् । विभिन्न देशका क्लबहरू मिलेर संयुक्त परियोजना सञ्चालन गर्छन् । यस प्रकारका परियोजनामा आर्थिक सहयोग, प्राविधिक ज्ञान र मानव स्रोत अन्तर्राष्ट्रिय रूपमा आदानप्रदान हुन्छ । वार्षिक रूपमा लाखौँ डलर बराबरको सहयोग यस्ता परियोजनामा परिचालन हुने गरेको छ । यसैले पनि रोटरीलाई ‘स्थानीय क्लब, विश्वव्यापी प्रभाव’ भएको संस्था मानिने असिस्टेन्ट गभर्नर एवं रोटरी क्लब अफ पनौतीका पूर्व अध्यक्ष ई. सितु सैंजुको भनाई छ ।

यस्तै, स्वास्थ्य क्षेत्रमा पनि रोटरीको योगदान उल्लेखनीय छ । विशेषगरी पोलियो उन्मूलन अभियानमा रोटरीले महत्वपूर्ण भूमिका खेलेको छ । विश्व स्वास्थ्य संगठन र युनिसेफको सहकार्यमा रोटरीका हरेक सदस्यहरुले गरेको योगदान र त्यसमा बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशनले थप गरिदिने रकमबाट सञ्चालन भइरहेको पोलियो खोप अभियानले नेपाल लगायत संसारलाई पोलियोमुक्त बनाउन सहयोग पु¥याएको हो । यसका साथै, दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचार, दन्त सेवा तथा रक्तदान कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । यी कार्यक्रमहरूले स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई प्रत्यक्ष राहत दिएका छन् ।

शिक्षा क्षेत्र पनि रोटरीको प्राथमिकतामा पर्छ । विद्यालय भवन निर्माण, पुस्तकालय स्थापना, छात्रवृत्ति वितरण तथा शैक्षिक सामग्री सहयोगमार्फत रोटरीले शिक्षा पहुँच विस्तारमा योगदान पु¥याएको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएका कार्यक्रमहरूले उनीहरूको अध्ययनमा निरन्तरता ल्याउन मद्दत गरेका छन् । खानेपानी र सरसफाइ सुधारमा पनि रोटरीको सक्रियता देखिन्छ । विभिन्न गाउँहरूमा सुरक्षित खानेपानीका धारा निर्माण, पानी शुद्धिकरण प्रणाली जडान तथा शौचालय निर्माणले स्थानीय बासिन्दाको जीवनस्तर सुधार्न सहयोग गरेको छ । साथै, सरसफाइसम्बन्धी जनचेतना कार्यक्रमहरूले व्यवहार परिवर्तनमा पनि सकारात्मक प्रभाव पारेका छन् ।

विपद् व्यवस्थापनको क्षेत्रमा रोटरी क्लबहरू सधैं अग्रपंक्तिमा रहने गरेका छन् । वि.सं. २०७२ को विनासकारी भुकम्पपछि राहत वितरणदेखि पुनर्निर्माणसम्म रोटरीको भूमिका उल्लेखनीय रह्यो । प्रभावित क्षेत्रहरूमा अस्थायी आवास निर्माण, विद्यालय पुनर्निर्माण तथा स्वास्थ्य सामग्री वितरणमार्फत हजारौँ परिवारलाई सहयोग पुगेको थियो । यस्तै २०८१ असोजको बाढी पहिरोका कारण भएको क्षतिमा पुनस्र्थापना कार्यमा रोटरीले धेरै सहयोग गरेको छ । उता, युवा सशक्तीकरण र वातावरण संरक्षणमा पनि रोटरीले ध्यान दिएको छ । ‘रोटर्याक्ट’ र ‘इन्टर्याक्ट’ क्लबमार्फत युवाहरूलाई सामाजिक सेवामा सहभागी गराउँदै नेतृत्व विकासका अवसर प्रदान गरिँदै आएको छ । यसका साथै वृक्षारोपण, फोहोर व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

नेपालमा रोटरी अभियान एउटा प्रभावशाली सामाजिक आन्दोलनका रूपमा स्थापित भएको सन्दर्भमा स्वयंसेवा, सहकार्य र मानवीय भावनामा आधारित यस अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । आगामी दिनमा पनि नवीन सोच र सहकार्यमार्फत रोटरीले नेपालको सामाजिक विकास यात्रामा थप योगदान पु¥याउनका लागि पोखरामा आयोजित डिष्ट्रि«क्ट सम्मेलनमार्फत गहन छलफल हुने र कार्यक्रमहरु तय हुने अपेक्षा गरिएको छ ।

बेथाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस