
पनौती/काभ्रेको पनौती नगरपालिकाको १९औँ नगरसभाको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ। नगरसभामा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध, स्वच्छ, सुरक्षित तथा आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, युवा स्वरोजगार, महिला सशक्तीकरण, डिजिटल सेवा प्रवाह तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ।
नगर प्रमुख भण्डारीले सडक, खानेपानी तथा सिंचाइ पूर्वाधारको विकासलाई निरन्तरता दिँदै कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनामा विशेष जोड दिइएको जानकारी दिनुभयो। कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमा आधारित अनुदान, कृषक प्रोत्साहन कार्यक्रम, कृषि बजार व्यवस्थापन तथा पशुपालनको व्यवसायीकरणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।
नीति तथा कार्यक्रममा पनौतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्दै विकास र समृद्धिको यात्रालाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ। साथै गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकासका कार्यक्रम समावेश गरिएको छ।
वातावरण संरक्षण, विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य नगरपालिकाले लिएको जनाएको छ।
स्वास्थ्य क्षेत्रतर्फ नगर अस्पतालको सेवा विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि तथा ज्येष्ठ नागरिक र विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ। यस्तै युवा तथा महिलालाई उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बनाउने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र क्षमता विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
नगरसभामा उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली, वडाध्यक्ष, नगरसभा सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। नगरसभाको दोस्रो बैठक आगामी असार १० गते बस्ने जनाइएको छ।