धुलिखेल÷अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किमी सडक ६ लेन बनाउन सुरू गरिएको तीन वर्ष हुन लागेपनि पचास प्रतिशत पनि काम हुन सकेको छैन । निर्माण सकिनुपर्ने समयमा अहिलेसम्मको प्रगति करिब ३५ प्रतिशत मात्र रहेको छ ।
बजेट अभाव र भूगोलजन्य कठिनाई, मुआब्जा वितरण, स्थानीयको अवरोधका कारण सडक विस्तारमा ढिलाइ भएको हो । पर्खाल, नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ भने साँगा क्षेत्र र धुलिखेल बासघारी अगाडी भिर नजिकै निर्माण गर्नु पर्ने कल्भर्टमा पनि भिर र घुम्ति नजिकै निर्माण गर्नु पर्ने हुनाले समस्या परेको ठेकेदारको भनाइ छ । अहिले दोस्रो खन्ड अर्थात साँगादेखि धुलिखेलसम्मको खन्डमा करिब २ किमि जति धुलिखेलबाट बनेपातर्फ बासघारी चोकसम्म भने कालोपत्रे समेत भैसकेको छ भने बनेपा पुल बजार क्षेत्रमा भने सिमा विवादका कारण निर्माण नै रोकिएको छ । परियोजना २०७९ पुस २४ बाट सुरू भई ३६ महिनाभित्र सक्ने लक्ष्य भएपनि अपेक्षा अनुसार काम अघि बढन नसकेको हो । सूर्यविनायक–साँगा ७.५ किमीखण्डको लागत ३ अर्ब ८८ करोड र साँगा–धुलिखेल ८.४ किमीखण्डको लागत ४ अर्ब ५ करोड रूपैयाँ रहेको छ ।