धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा डिजिटल टोकन प्रणाली सुरु भएको छ ।
राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि र राहदानी सेवाका डिजिटल टोकन प्रणाली सुरू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नु भएको छ ।
राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी सम्बन्धित शाखामा टोकन अनुसारको पालोमा सेवा उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।
गृह-मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेसिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको र सेवा शुभारम्भ सँगै भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेद् अन्त्य हुने उहाँले बताउनु भयो ।
डिजिटल टोकन प्रणालीको सुरूवात भएसंगै सेवाग्राहीहरू सहज भएको छ । सेवा लिन जो अगाडि आउँछ उसले नै पहिले सेवा पाउने, पालैपालो सेवा लिन र भीडभाडरहित सेवा व्यवस्थापनमा यो प्रणालीले सहयोग पुर्याउनेछ । सेवाग्रहीले समेत जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधिमैत्री सेवा प्रभावकारी रहेको बताएका छन् ।