धुलिखेल÷ खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिब तीन वर्षअघि सुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो । गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको ठेक्कामा सम्झौता गरेपनि समयमा काम नगरेपछि सरकारले सम्झौता रद्द गरेको थियो । तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेन्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न निर्देशन दिएपछि थप निर्माण अन्यौलमा परेको हो । सडक डिभिजनले पुनः टेन्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । डिभिजन प्रमुखका अनुसार निर्माण कार्य सुरु गर्न तयार भएपनि कानुनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो । हालसम्म करिब २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ । केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भएपनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ । १२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे गर्ने प्रविधि अपनाउने योजना छ ।