पाँचखाल/पाँचखाल नगरपालिकाले आफ्नो नारा र नगर झल्कने लोगो सार्वजनिक गरेको छ ।
नगरको १७ औं नगरसभाको अवसरमा ‘पाँचखाल नगर, कृषि शहर’ को नारा सहित काभ्रेकै प्रसिद्ध मन्दिर पलाञ्चोक भगवती र कृषि क्षेत्र धेरै भएकोले सोहि अनुसार झल्कने लोगो सार्वजनिक भएको हो ।
नगरसभामा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रमुख सुर्यमाया दनुवार र प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले सयुक्त रुपमा लोगो सार्वजनिक गरेका थिए ।
नगरपालिकाको उत्कृष्ट लोगो बनाउने चाँगुनारायण नगरपालिका वडा नं ५ स्थाई ठेगाना भएका मनोज कुमार सुवाललाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको थियो ।
पाँचखाल नगरपालिकाले सार्वजनिक गरेको लोगो
पाँचखाल नगरको जेठ १३ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार असार ४ गते भित्र इच्छुक व्यक्ति‚ फर्म‚ संघसंस्था वा कम्पनीले लोगो डिजाइन गरी नगरपालिकामा बुझाउन र बुझाएका मध्ये उत्कृष्टलाई नगद सहित सम्मान गर्ने निर्णय गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाको संयोजकत्वमा बनेको समितिले नगरमा प्राप्त भएका १३ डिजाईन मध्ये तीनवटा कार्यपालिकाको बैठकमा पेश गरेको थियो ।
कार्यपालिका बैठकमा पेश भएका तीन मध्ये सुवालले बनाएको लोगो पाँचखाल नगरको पहिचान झल्कने भएको कारण छनौट भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।