काभ्रेपलाञ्चोक मानवअधिकार अवस्थाको समिक्षा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ३०, सोमबार (५ महिना अघि)
  • ३४५ पटक पढिएको

काभ्रेपलाञ्चोक  मानवअधिकार अवस्थाको समिक्षा

बनेपा/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा प्रकाशित हुँदै आएको मानवअधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समिक्षा असार ३० गते बनेपामा सम्पन्न भयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले जनजाति समुदायबाट हिंसाका घटना बढी आउनुमा शिक्षाको अवस्था कमजोर भएको बताए । उनले अहिले मानवअधिकार समुदायको आवाज मधुर भएको उल्लेख गर्दै संक्रमणकालिन न्यायका संयन्त्र कमजोर भएकाले सशस्त्र द्वन्द्वका पीडितले अझै न्याय नपाएको उल्लेख गरे । मानिसहरूको आर्थिक अवस्था बलियो बनाउन सकेमा मात्र हिंसाका घटनामा कमी आउने भएकाले सचेतनामूलक कार्यक्रममा जोड दिन उनले जोड दिए ।
मानव अधिकार सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले जिल्लामा महिला र बालवालिकाको सवाल मानव अधिकारका मुख्य सवालका रुपमा रहेको उल्लेख गर्दै समाजमा जातिय विभेद, बालविवाह, बलात्कार, हिंसा र दुव्र्यवहारका घटना बढ्दो रहेको उल्लेख गरे । सन् २०२५ को ६ महिनामा मानवअधिकार उल्लंघनका ६० र घरेलु हिंसाका ५३ ओटा गरी १ सय १३ ओटा घटना इन्सेकमा अभिलेख भएको उनले जानकारी दिए । यस अवधीमा जर्वजस्ती करणीका १६, बालविवाह, बहुविवाह, जातिय विभेद र एसिड प्रहारका १÷१, ज्यानमार्ने उद्योगका ११, अभद्र व्यवहारका २८, कर्तव्य ज्यान सम्वन्धी ३, कुटपिट र अंगभंगका ३, आपराधिक उपद्र्धवका ३, जर्वजस्ती करणी उद्योगका ११ घटनाहरू सार्वजनिक जानकारीमा आएका छन् ।
द्वन्द्वपीडित पूर्णिमाया लामाले आफ्नो पति अर्जुन लामालाई हत्या गरेको यत्रो समय बित्दा पनि न्याय नपाएको उल्लेख गर्नुभयो । सर्बोच्च अदालतले घटनाको अनुसन्धान गर भन्दा पनि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान नै नगर्ने, अदालतले पूर्ण पाठ नै नदिने कुरा राम्रो नभएको उल्लेख गर्दै अझै न्यायको आश नमरेको बताइन । द्वन्द्वपीडित मनकुमारी रञ्जितले शान्ति प्रक्रियामा समेत पीडितहरूको बेवास्ता गरिएको उल्लेख गर्दै मानवअधिकार रक्षकहरूले द्वन्द्वपीडितको घरमा पुगेर उनीहरूको अवस्थाका विषयमा अध्ययन गर्न जोड दिनु भयो । धेरै पीडित महिला घरमा बस्न नसकेर माइतमा गएर बसेको, धेरै पटक बेहोस भएको र धेरैले मानसिक स्वास्थ्यको औषधी समेत खानु परेको उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी रंजिता कार्कीले हिंसापीडित महिलाहरूलाई न्याय दिनका लागि संघसंस्थाहरूले सहयोगी भूमिका निभाउनुपर्ने उल्लेख गरिन । माइती नेपाल काभ्रेकी कोअर्डिनेटर गायत्री गौतमले अहिले ग्रामिणस्तरमा सचेतनाका कार्यक्रम आवश्यक भएको बताइन । उनले नेपालको बर्तमान अवस्थाका कारण वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताले महिला र बालवालिका बेचविखनको जोखिममा रहेको उल्लेख गरिन ।
महिला अधिकारकर्मी कल्पना विश्वकर्माले महिलाहरूले सहज ढंगबाट नागरिकता प्राप्त गर्न नसकेका कारण हिंसामा परेको उल्लेख गरिन । अधिकारकर्मी निर्मला काफ्लेले हिंसापीडित महिलालाई सुरक्षित गृहमा राखेर मात्र नहुने उल्लेख गर्दै महिलाका मानव अधिकारका सवाल घटना संख्याको आधारमा मात्र विश्लेषण गर्न नहुने बताइन ।
पत्रकार राजकुमार पराजुलीले अघिल्ला वर्षका घटनाहरू अध्ययन गरेर घटना संकलन मात्र नगरी सचेतनाका कार्यक्रम संचालन गर्न सुझाए । टाढाका बस्तीबाट हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन नसक्नुका कारणहरू पहिल्याउन उनले जोड दिए । गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यद्धारा गरिएको थियो । कार्यक्रममा थुप्रै मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस