
अरनिको राजमार्गको धुलिखेल–खावा सडकको लागि नयाँ ठेक्का आह्वान भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको धुलिखेल–खावा सडक आगामी १४ महिनामा काम सक्नेगरी विहिबार सुचना प्रकाशन गरेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार अरनिको राजमार्गको धुलिखेल–खावा सडकको पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्नेगरि नयाँ ठेक्का खुलाईएको जानकारी दिए । ‘नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भएको र १४ महिनाको अवधि तोकेर नयाँ सुचना जारी भएको छ।’–योगेशले भने । नयाँ ठेक्कामा पनि आगामी बर्षको बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी स्टमेड बनेको उनको भनाई छ । पुरानो भन्दा केहि स्थान जस्तै जिल्ला प्रशासन र समन्वय, धुलिखेल क्याम्पस लगायतका संरचना जोगाउन स्लोप प्रटेक्सन वाल तथा विभिन्न स्थानमा पहिरो झर्न नदिनको लागि वाल लगाउन नयाँ स्टमेट तयार भएको र अन्य काम भने अघिल्लो डिजाईन अनुसार नै हुने प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । ‘पिचको काम आगामी चैत्र–बैशाखमानै सकिने गरी र केहि छुट काम १४ महिना भित्र गर्ने गरी स्टमेड तयार भएको छ ।’–योगेशले भने । सडकमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने गरि सडक निर्माण हुनेछ ।

अरनिको राजमार्गको धुलिखेल खावा सडकको पुरानो ठेक्का रद्द भएपछि सडक निर्माणमानै अन्योल भएको थियो । ठेक्का रद्ध भएपछि अदालत गएको पुरानो निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवाले सडक डिभिजन कार्यालय भक्तपुर विरुद्ध उच्च अदालत पाटनमा हालेको मुद्दा न्यायाधीश डाल कुमार श्रेष्ठ र डील्लीराज श्रेष्ठको सयुक्त इजलासले खारेज गरिदिएका थिए । मुद्दा खारेज भएसंगै सडक निर्माणका लागि नयाँ तरिकाबाट जान सहज भएको थियो ।
अघिल्लो पटक ठेक्का पाएको गौरी पार्वती निर्माण सेवाले सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि गत २५ फागुनमा सूचना प्रकाशन गरी सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको थियो । धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।