महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृह मन्त्री रमेश लेखकलाई भेटेर गरे ध्यानाकर्षण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ श्रावण ३, शनिबार (५ महिना अघि)
  • ३४९ पटक पढिएको

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृह मन्त्री रमेश लेखकलाई भेटेर गरे ध्यानाकर्षण

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृह मन्त्री रमेश लेखकलाई भेटेर ध्यानाकर्षण गराउनुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा गएको वर्ष असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोले व्यापक क्षति पुर्‍याएकोमा अझैसम्म पुनःनिर्माण नहुँदा निराश भएका स्थानीयवासी प्रतिनिधित्व गर्दै अध्यक्ष जिम्बाले औपचारिक ध्यानाकर्षण गराउनुभएको हो ।

गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यक्ष जिम्बाले बाढी–पहिरोबाट निजी आवासदेखि लिएर पूर्वाधारसम्म ध्वस्त भए पनि एक वर्ष बित्न लाग्दा पनि अपेक्षित पुनःनिर्माण नहुँदा सेवाग्राहीमा निराशा उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।
उनले भन्नुभएको छ, ‘नेपाल सरकारले ती पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ र गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका उच्चस्तरीय टोलीहरू स्थलगत अवलोकनमा आउँदा पुनःनिर्माणको आशा गरिएको थियो । तर, हालसम्म प्रभावकारी पहल नहुँदा पीडित थप पीडामा छन् ।’
अध्यक्ष जिम्बाले ध्यानाकर्षण पत्रमार्फत सरकारलाई शीघ्र र प्रभावकारी रूपमा पुनःनिर्माण कार्य अघि बढाउन विशेष अनुरोध गर्नुभएको छ ।

ध्यानाकर्षण पत्रमा नेपाल सरकारले तयार पारेको कार्यविधिमा स्थानीय तहबाट २० प्रतिशत साझेदारी गर्ने व्यवस्था रहेकोमा, त्यसले स्थानीय तहको राजस्व क्षमताको मूल्याङ्कन नगरेको भन्दै उक्त व्यवस्था तत्काल संशोधन गर्न अनुरोध गरिएको छ ।
संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि कुनै ठोस योजना नआएको भन्दै आवश्यक योजना समावेश गर्न आग्रह गरिएको छ ।

नमोबुद्ध, रोशी र महाभारत जोड्ने थानसिङबेशी पुल तथा सिपाली–बुढाखानी–बनखु सडक बाढीले तहसनहस पारेको हुँदा तत्काल पुनःनिर्माण गर्न माग गरिनुका साथै विपी राजमार्गको मर्मत र पुनःनिर्माण अपेक्षित गतिमा नहुँदा दैनिकरूपमा राजमार्ग बन्द गर्नुपर्ने अवस्था आएको भन्दै त्यसको द्रुत पुनःनिर्माणको माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस