
भकुन्डेंबेसीं /रोटरी क्लब अफ काठमाडौँ हाइट तथा रोटरी ई-क्लबको संयुक्त आयोजनामा नमोबुद्ध-४ स्थित श्री जनक माध्यमिक विद्यालयमा “रोटरी छहारी – फुड फरेस्ट” कार्यक्रम अन्तर्गत फलफुलका रूख रोपण अभियान सञ्चालन गरेको छ। संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा सम्पन्न यस कार्यक्रममा विद्यालय परिसरमा स्याउ, आरु, खुर्पानी, नास्पाती लगायतका बहुवर्षीय फलफूलका रूख रोपिएका छन्।
कार्यक्रमका आयोजक रोटरी क्लब अफ काठमाडौँ हाइटले यो अभियान पर्यावरण संरक्षण, जैविक विविधता र स्थानीय समुदायको खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण बताएका छन्। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय नेतृत्व र रोटरी सदस्यहरूको सहभागिता रहेको थियो।
रोटरी क्लब अफ काठमाडौँ हाइटका प्रशासकिय निर्देशक तथा संस्कृति फार्म्सका निर्देशक रो. श्रीकृष्ण धितालले रूख रोप्ने उचित तरिका, माटोको हेरचाह, सिँचाइ विधि लगायतका प्राविधिक जानकारीहरू सहभागीहरूलाई दिए। उनले बिरुवाहरूको उचित हेरचाह गर्दै यसले भविष्यमा विद्यालय तथा स्थानीय समुदायलाई फलफूलको उपलब्धता गराउने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत दाहालले यस अभियानले विद्यालय परिसरलाई हरियाली बनाउनुका साथै विद्यार्थीहरूलाई पर्यावरण संरक्षणको शिक्षा दिने बताए। उनले विद्यालयले रोपिएका बिरुवाहरूको नियमित हेरचाह गर्ने प्रतिबद्धता जनाए।
रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन भइरहेको “नेपालभर ५०,००० वृक्षारोपण” अभियानको अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो। यसै दिन देशभरका १५० भन्दा बढी रोटरी क्लबहरूले वृक्षारोपण कार्यक्रम आयोजना गरेका थिए।
रोटरी क्लब अफ काठमाडौँ हाइटले यस्तै अभियानहरू भविष्यमा पनि जारी राख्ने योजना बनाएको छ। क्लबका २०२५/२६ का अध्यक्ष्य रो. अरुण शर्माले यस्ता कार्यक्रमले समुदायमा पर्यावरण चेतना बढाउनुका साथै स्थानीय स्तरमा खाद्य सुरक्षामा पनि योगदान पुग्ने बताएका छन्।