
बनेपा÷नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना सदस्य, जिल्लामा क्रियाशील पत्रकार र तिनका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न बनेपा स्थित कम्युनिटी वेलनेस सेन्टर सिडब्लुसी पोलिक्लिनिकसँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।
सोमबार बनेपामा आयोजित कार्यक्रममा महासंघको तर्फबाट शाखा अध्यक्ष बिनोदकुमार न्यौपाने र पोलिक्लिकको तर्फबाट सञ्चालक शशीकुमार सुवालले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार पत्रकार र तिनका परिवारलाई प्रयोगशाला परीक्षणहरूमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । इसिजी, एक्स–रे, अल्ट्रासाउण्ड लगायतका सेवामा १० प्रतिशत र औषधिमा १० देखि १८ प्रतिशतसम्म छुट दिइनेछ । नियमित स्वास्थ्य परीक्षण प्याकेजमा विशेष छुट व्यवस्था गरिएको समझदारीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले जिल्लाका सञ्चारकर्मी र तिनका परिवार लाभान्वित हुनेगरी समझदारी गरेकोमा पोलिक्लिनिकलाई आभार प्रकट गर्नुभयो । पोलिक्लिनिक सञ्चालक शशीकुमार सुवालले समाजमा योगदान दिने सञ्चार क्षेत्रसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । पैसा अभावमा उपचारबाट वञ्चित हुने अवस्था आउन नदिने भन्दै उहाँले त्यस्ता व्यक्तिहरूको निःशुलक उपचार प्रबन्ध गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका सल्लाहकार हरु बद्रीराज तिमल्सिना, मोतिराम तिमल्सिना ,सचिव नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।