
हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलवभत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर २(ख) का अति विपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने जानकारी गराएका थिए ।
यस्तै बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विपन्न र सिमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रावृति प्रदान गर्ने निर्णय गरेको हो । जेहेन्दार र विपन्नमध्ये छनौट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरीनरी डाक्टर २ जना साथै १० जनालाई नर्सलाई पूर्ण छात्रवृत्ति दिने निर्णय भएको सरकारका प्रवक्ता खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री कृष्णकुमार तामाङले जानकारी दिए ।
त्यस्तै मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभित्र रहेका अति गरिब र सिमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल हायु वनकरियालगायतलाई जीवनयापनको सहयोगको लागि गाँसबास र कपासको प्रबन्ध गर्न उच्च प्राथमिकताका साथ नीति बनाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।