
काठमाडौं। नेपालका रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका निम्न रोटरी क्लबहरु (रोटरी क्लब अफ काठमाडौं, काठमाडौं डाउनटाउन, काठमाडौं मेट्रो, काठमाडौं सर्कल, काठमाडौं हाइट, गोंगबु, तिनकुने, पाटन, बाग्मती काठमाडौं, बालाजु, मध्यपुर, मातृभूमी बालुवाटार, राजधानी, हेटौडा) का अध्यक्षहरूले संयुक्त रूपमा गठन गरेको रोटरी एक्सन ग्रुप ले “Unite for Good” नारासहित जेन–जी पुस्ताद्वारा भइरहेको आन्दोलनमा निरन्तर मानवीय सहयोग गर्दै आएको छ।
‘सर्भिस अबभ सेल्फ’ मूल आदर्श बोकेको रोटरी एक गैरराजनीतिक, बिशुद्ध सामाजिक संस्था हो। यही भावनाअनुरूप समूहले आन्दोलनका बीचमा उद्धार, उपचार सहयोग, रक्तदानदेखि पुनर्निर्माणसम्मका विविध कार्य अगाडि बढाएको छ।
उद्धार र उपचार सहयोग
रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतमका अनुसार, एक्सन ग्रुपका सदस्यहरूले बानेश्वर क्षेत्रमा घाइते भएकालाई उद्धार गरी सिभिल, ट्रमा सेन्टर, टिचिङ र ग्रिन सिटी अस्पतालसम्म पुर्याउन सहयोग गरेका छन्।
आकस्मिक रक्तदान
रोटरी क्लब अफ बालाजुकी अध्यक्ष शोभा कुमारी पौडेलका अनुसार, भदौ २४ गते बालाजु चोकमा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन गरी ७९ पोका रगत संकलन गरिएको छ। यस कदमले आन्दोलनका क्रममा उपचाररत घाइतेहरूको जीवनरक्षामा सहयोग पुर्याएको छ।
मेडिकल टिम र घाइतेलाई सहयोग
रोटरी क्लब अफ काठमाडौं सर्कलका अध्यक्ष निलहरी कोइराला का अनुसार सुरक्षार्थ र उपचारार्थ खटिएका मेडिकल टोलीलाई खाजा, पानी, मास्क र ग्लोभ्स उपलब्ध गराउनुका साथै, घाइते र कुरुवालाई खाना–खाजामा सहयोग एवं उपचारपछि आफ्नै गाडी वा एम्बुलेन्स भाडा तिरेर घरसम्म पुर्याउने व्यवस्थाका लागि सहयोग गरिएको थियो ।
प्रहरी चौकी तथा संरचना पुनर्निर्माण
रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका अध्यक्ष अमोल प्रधानले जानकारी दिएअनुसार, बसुन्धारा प्रहरी चौकीलाई भदौ २८ गते खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ। त्यस्तै, भदौ २९ गते थापाथली ट्राफिक प्रहरीमा सरसफाइ, सिरक–डस्ना, बेड लगायतका सामग्रीहरु रोटरी क्लब अफ काठमाडौं मेट्रोका अध्यक्ष सञ्जय अग्रवाल, रोटरी क्लब अफ तिनकुनेका अध्यक्ष तिलक तिवारी, रोटरी क्लब अफ पाटनका अध्यक्ष खडक विष्ट, रोटरी क्लब अफ बाग्मती काठमाडौंका अध्यक्ष सरोज बज्राचार्य, रोटरी क्लब अफ मध्यपुरका अध्यक्ष चन्द्र क्रिष्ण चन्द्रकर , रोटरी क्लब अफ मातृभूमी बालुवाटारका निर्मल ढकाल, रोटरी क्लब अफ राजधानी शिवराज भट्ट समेतको संयुक्त तत्वावधानमा भएको थियो ।
थप आवश्यकतामा पहल
रोटरी क्लब अफ गोंगबुका अध्यक्ष तथा यस समुहका संयोजक राजा राम फुयालका अनुसार, तारकेश्वर नगरपालिकाको धर्मस्थली प्रहरी चौकीमा ३ थान कम्प्युटर र १ थान प्रिन्टर समेत हस्तान्तरण गरिएको छ। बालाजु पुलिस सर्कल धर्मस्थली तारकेश्वरस्थित प्रहरी चौकीमा १९० भन्दा बढी सुरक्षाकर्मी रहने भए पनि एक मात्र शौचालय भएकाले थप शौचालय निर्माण अत्यावश्यक भएको छ। यसका लागि आवश्यक स्रोत साधन जुटाउने पहल भइरहेको छ।
सहकार्यको आह्वान
रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष अरुण शर्माले भने, “यस्ता मानवीय सहयोगका कामहरूमा सबैले आ–आफ्नो तर्फबाट यथा–शक्य सहयोग गर्नुपर्छ। ग्रुपसँग हातेमालो गर्दै अघि बढेमा मात्र हाम्रो समाजलाई सहयोग पुग्छ।”