
बनेपा / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ४४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
५८ औं स्थापना दिवस तथा साधारण सभा संघका अध्यक्ष अमन पोटे श्रेष्ठद्वारा दिप प्रज्वलन गरी उद्घाटन गरिएको हो ।
साधारण सभामा अध्यक्ष अमन पोटे श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रम र आगामी योजना, सचिव प्रकाश बञ्जाराले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
देश भरका सहकारी संघहरू मध्ये उत्कृष्ट संघको सूचीमा पर्न सफल जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले आ. ब २०८१/८२ मा कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैयाँको कारोबार गरी १ करोड १४ लाख ६७ हजार ४३० रुपैयाँ नाफा कमाएको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले जानकारी दिनु भयो । चालु आ.ब २०८२/८३का लागि संघले १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैयाँ कारोबार गर्ने र २ करोड ६ लाख ९८ हजार ८८२ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ ।
साधारण सभाको अवसरमा संघले विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । सो अन्तर्गत सहकारी पत्रकार सम्मान पुरस्कार काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक एवं रेडियो एबिसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने, सहकारी उत्कृष्ट व्यवस्थापक सम्मान नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपक तिमल्सिनालाई सम्मान गरिएको छ । यसै गरी पाँचखाल नगरपालिका वडा नं १० स्थित आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थालाई नगद सहित सम्मान गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका ५ सय ९४ सहकारी संस्था सदस्य रहेको संघले पाँचखाल, भकुण्डे र पनौतीमा सेवा केन्द्र सञ्चालनमा छ ।