
काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ।
शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्यालले बटम थिचेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ शुभारम्भ गर्नुभएको छ ।
पहिलो चरणमा यातायात व्यवस्था विभागको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जानकारी दिए । उहाँका अनुसार, दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छाप्ने गरी तयारी थालिएको छ । बजेट उपलव्ध भए थप अनुमतिपत्र छापिने बताउनुभयो।
९ जेठमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी सवारीचालक अनुमतिपत्र छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए । वर्षौंदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ सुरू गरिएको बताउँदै उनले २८ लाख ड्राइभिङ लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिँदा रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा सञ्चार सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले लाइसेन्स छपाइको सुरुवातको महत्वपूर्ण दिन भएको बताउनु भयो ।
यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले दैनिक ३–४ सय सेवाग्राही लाइसेन्स माग्न आउने गरेपनि दिन नसकिएको भन्दै लाइसेन्स छाप्नुपर्ने दायित्व प्रदेश सरकारको भएपनि संघीय सरकारले नै छाप्न थालेको बताउनु भयो ।
यस्तै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले लाइसेन्स छपाइको काम सुरुवात हुनु सुहद भन्दै निरन्तरताको लागि अनुरोध गर्नुभयो ।