
धुलिखेल । प्राडा सुरेशराज शर्मासहितका समकालीन शिक्षाप्रेमी व्यक्तित्वहरुको ‘मुलुकमै उच्च शिक्षा प्रदानको सपना’ रहेको काठमाडौं विश्वविद्यालय (काविवि)ले आज ३१ औं दीक्षान्त समारोह(पहिलो चरण)अन्र्तगत विभिन्न विधाका विद्यार्थीहरुलाई दीक्षा दिँदैछ । नेपालको विश्वविद्यालयहरुको इतिहासमै शैक्षिक क्यालेण्डरमा अब्बल मानिएको काविविले पढाईको आरम्भदेखि समापन अर्थात् दीक्षान्तलाई हालसम्म निरन्तरता दिँदै आएको हो ।
विगतझैं दीक्षान्तको दुई दिन आगडि आयोजना हुने पत्रकार सम्मेलनमार्फत रजिष्ट्र«ार प्राडा राजीव श्रेष्ठले काविविको केन्द्रीय परिसर धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुनेछन् । यस्तै, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनेछन् ।
३१ औं दीक्षान्तको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षित हुने स्वदेशी र विदेशी विद्यार्थीको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ । काविविमा हालसम्म ५९ देशका विद्यार्थीहरु पूर्णकालीन अध्ययन गरिसकेका छन् । तीमध्यै १५ देशका धेरै विद्यार्थीहरुले अध्ययन गरेका थिए । सबैभन्दा बढी भारतका ४ हजार ९७६ जना रहेका छन् ।
यसपछि श्रीलङ्काका २९९ जना, अमेरिकाका ८५ जना, माल्दिभ्सका ७५, जर्मनीका ३३, बङ्गङ्गादेशका २५, बेलायत र क्यानडाका २१÷२१, भुटानका २०, चीनका १९, जाम्बिया १८, दक्षिण अफ्रिकाका १४, पाकिस्तानका १३, अष्ट्र«लिया र रुसका १०÷१० र बाँकी अन्य देशका रहेका प्रवक्ता डा. उद्धव प्याकुरेलले जानकारी दिए । स्वदेशी विद्यार्थीलाई स्वदेशमै रोक्न र विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने कार्यक्रमहरु ल्याएको उनको भनाई थियो ।
यस पटकको समारोहमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने भएका छन् । सो अवसरमा काविविको स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ एजुकेसनका २ सय ९४, स्कुल अफ इन्जिनियरिङका ३ सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कुल अफ साइन्सका १ सय ९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यस पटक दीक्षित हुनेछन् ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२ दशमलव २४ प्रतिशत ( १ हजार १ सय ५४ जना) र महिला ४७ दशमलव ७६ प्रतिशत (एक हजार ५५ जना) रहनेछन् ।
यस पटक दीक्षित हुनेमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी रहनेछन् ।
काविविबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स अफ फिलोसेफी बाइ रिसर्च इन म्याथम्याटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन एग्रिकल्चर मा २९ जना दीक्षित हुनेछन । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर्स् अफ मेडिकल रिसर्चमा २० जना दीक्षित हुनेछन् ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कयास्टिलानो मेन्चासालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेटमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दंगाललाई प्रदान गरिदैछ ।
स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट) मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गर्ने कार्यक्रम छ ।
दीक्षान्त समारोहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काविविका उपकुलपति प्राडा अच्युत वाग्लेले विश्वविद्यालयको विस्तारित शैक्षिक योजना, विदेशी प्राध्यापकहरूको संलग्नता, र आगामी अन्तर्राष्ट्रिय तथा संस्थागत कार्यक्रमबारे विस्तृत जानकारी दिएका थिए । उनका अनुसार, विदेशी प्राध्यापकहरूको सहभागिताले विद्यार्थी तथा अध्यापक दुवैको शैक्षिक प्रतिस्पर्धा र गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्ने भएकाले केयूले अन्तर्राष्ट्रिय फ्याकल्टीहरूको आकर्षणलाई प्राथमिकतामा राखेको छ ।
पछिल्लो समय बढ्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै विश्वविद्यालयले ३५ नयाँ प्राध्यापक÷सहप्राध्यापक÷उपप्राध्यापक दरबन्दी थप्ने कार्यकारी परिषद्बाट निर्णय भई सो प्रस्ताव सिनेटमा लैजान लागिएको वाग्लेले जानकारी दिए । त्यस्तै, विदेशी प्राध्यापकहरु ल्याएर पढाउन थालिएको बताए । उनका अनुसार, पछिल्लो समय काठमाडौं विश्वविद्यालयमा विद्यार्थीको संख्यामा २३ प्रतिशत वृद्धि भएको छ । काविविले सातै प्रदेशमा सम्बन्धन दिने निर्णय गरेपछि हालसम्म ८४ वटा कलेजहरुबाट आवेदन प्राप्त भएकोमा स्कूल अफ आर्ट्सअन्तर्गत धनगढी र जनाकपुरमा सम्बन्धन प्रक्रिया अघि बढेको उनको भनाई छ । आजको पलाञ्चोक साप्ताहिकबाट ।