जिससको आयोजनामा लैंगिक हिंसा विरुद्धको अभियान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ मंसिर २५, बिहिबार (१ महिना अघि)
  • १३९ पटक पढिएको

जिससको आयोजनामा लैंगिक हिंसा विरुद्धको अभियान

धुलिखेल÷ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसाथ समापन गरेको छ । धुलिखेलमा एक समारोहको आयोजना गरेर यो वर्षको अभियान समापन गरिएको हो । अभियान सुरु भएयता जिसस काभ्रेले पालिका र वडा स्तरसम्म पुगेर विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको थियो । अभियान अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला स्थित सामुदायिक तथा संस्थागत मावि स्तरीय वक्तृत्वकला गरिएको थियो । “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने विषयमा अनलाइन वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।।
जसमध्ये जनक मावि भकुण्डेबेसीकी अञ्जली काफ्ले प्रथम, डेडीथुम्का मावि, महादेवस्थान, मण्डनदेउपुरकी रोशनी रम्तेल द्धितीय र ग्रामोन्नती मावि, महाभारत गाउँपालिकाकी कुशुम मोक्तान तृतीय हुन सफल भए । उनीहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद, प्रमाणपत्रसहित जिससले सम्मान गरेको छ । यस्तै जिससले मानवअधिकारकर्मी भोजराज तिमल्सिना, धुलिखेल अस्पतालको एकद्वार संकट ब्यवस्थापन केन्द्रका प्रमुख डा.सम्झना बस्नेत र शिर मेमोरियल अस्पताल बनेपामा रहेर महिला तथा बालबालिकाका साथै सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्दै आउनुभएकी डा. एन्जिला बस्नेतलाई सम्मान गरेको छ । अभियान समापन गर्दै जिसस प्रमुख गौतमले हिंसै हिंसाले भरिएको समाजमा विकासले फड्को नमार्ने भन्दै हिंसा रहित समाज निर्माणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिससका पदाधिकारी, अभियानकर्मीहरुको उपस्थिति थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बनेपा नगरपालिकाद्वारा पहिलो दिन मिति २०८२ मंसिर ९ गते सबै जनप्रतिनिधि र कर्मचारीहरुले सेतो रिवन लगाएर कार्यक्रम उदघाटन गरिएको थियो । दोस्रो कार्यक्रम मिति २०८२ मंसिर १७ गते ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिभिन्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
त्यसैगरी तेस्रो कार्यक्रम प्रविधिको सही प्रयोग गरौं ःलैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल राष्ट्रिय नारालाई मनन गर्दै किशोरीहरुका लागि डिजिटल सुरक्षा तथा साइबर अपराध विषयक १ दिने अभिमूखिकरण सकिएको हो । महिला तथा किशोरीहरुको प्राकृतिक रुपमा हुने महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन सेनेटरी प्याड राख्ने मेसिन र डिस्पोजल ट्याङ्क जडान गरी कार्यक्रम समापन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस