
बनेपा÷ ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेन जीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य प्रश्न उठ्ने बताउनुभएको छ । उज्यालो नेपाल पार्टीको काभ्रे जिल्लाको भेलामा जेनजीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले सरकारसँग सम्झौता भएकोले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको बताउनुभएको हो । वर्तमान सरकार जेनजी आन्दोलनपछिको परिस्थितिमा बनेको बताउँदै उनले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई प्रहरीले दुःख दिने कार्य भए सरकारकै औचित्यमाथि समेत प्रश्न उठ्ने उहाँको भनाइ छ । मन्त्री घिसिङले सोमबार युवाहरूले काभ्रेमा बुझाएको ज्ञापनपत्रमा समेटिएका धेरै विषयहरू सरकारसँगको सम्झौतामै समेटिएको उल्लेख गर्दै बाँकी विषयहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । उज्यालो नेपाल पार्टीको अघोषित नेतृत्वमा रहेका घिसिङले दिन–रात नभनी सक्रिय भएर ‘उज्यालो काभ्रे’ बनाउने अभियान सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह उहाँको थियो । जेनजी आन्दोलनमा सहभागी भएको वा सहभागी नभएकै आधारमा पनि प्रहरीले दुःख दिने, धरपकड गर्ने, झुटा मुद्दामा फसाउने कार्य भइरहेको भन्दै त्यसको अन्त्य वर्तमान सरकारले नगरे पुनः जेन जी युवाहरू आन्दोलनमा उत्रिने चेतावनी सहित पनौती नगरपालिका–२ का श्याम तिमल्सिनाले ज्ञापनपत्र बुझाएका थिए । उज्यालो नेपाल पार्टीमा हाल काभ्रे जिल्लाबाट चार जना केन्द्रीय सदस्य छन ।