
बनेपा ÷ नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ स्मारिका विमोचन गर्नुका साथै वेबसाइट समेत शुभारम्भ गर्नुभएको छ ।
अध्यक्ष शर्माले महासंघको नेतृत्वमा आएको एक बर्षको अवधीमा श्रोतको अभावमा संस्थागत विकासको लागि सोचे अनुरुप काम गर्न नसकेको स्विकार्दै पत्रकारको हकहित, क्षमता अभिवृछि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि महासंघले काम गर्दै आएको बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता भएको संविधानलाई जोगाइराख्न स्वतन्त्र नागरिक समूहसहित नेपाल पत्रकार महासंघ र सबै छाता संगठनहरूले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुन नदिन जेन जी आन्दोलनपछि बनेको सरकारलाई तोकिएकै समयमा निर्वाचन गराउन सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघका सांगठनिक गतिविधीमा काभ्रेपलाञ्चोकको शाखाको अग्रणी भूमिका रहेको चर्चा गर्दै उनले पत्रकारिताको राष्ट्रिय प्रशिक्षण केन्द्र काभ्रेमा सञ्चालन गर्न केन्द्रीय समितिले पहल र सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । ेपाल पत्रकार महासंघ बाग्मती प्रदेश कार्यसमितिका अध्यक्ष कृष्ण सारु मगरले प्रदेशभर सञ्चारकर्मी, सञ्चारमाध्यम र शाखाको संस्थागत विकासको लागि प्रदेशले पहलकदमी लिने बताउँदै काभ्रे शाखाको पूर्वाधार र संस्थागत विकासको लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु भोजराज तिमल्सिना, इश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना, अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ कामना प्रकाशन प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिना, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिका सदस्य सुनिता सापकोटा, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका सचिव शुभराज अधिकारी,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष इन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोका उपाध्यक्ष कपिल कोइराला लगायतले पूर्वाधारका हिसाबले सम्पन्न हुँदै गएको भन्दै अब पत्रकारको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले सबै अग्रज र सहयोगीहरुको साथ र सहयोगले महासंघले पूर्वाधारहरु तयार गरेको भन्दै आगामा दिनमा पत्रकारिता तालिम, अन्तरक्रिया, क्षमता अभिवृद्धि लगायतका काममा केन्द्रीत हुने धारणा राख्नुभयो ।
महासंघको वेबसाइटमा महासंघको इतिहास, सदस्य, सञ्चारमाध्यम, सञ्चारकर्मीको विवरणका साथै संस्थाका गतिविधी समेटिएका छन् । स्मारिकामा महासंघको इतिहास, पत्रकारिताका वर्तमान चुनौती र प्रविधी अनुरुपको पत्रकारिताका विविध पाटो समेटिएका लेख तथा महासंघका गतिविधीहरु समेटिएको महासंघले जनाएको छ । २०४९ साल पुष २ गते धुलिखेलमा भएको भेलाले आवाज साप्ताहिकका सम्पादक यादव थपलियाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ को ५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले यसअघि रजत बर्ष समारोहका अवसरमा संस्थापकलाई सम्मान गरिसकेको छ । प्रत्येक बर्ष स्थापना दिवस विभिन्न रचनात्मक काम गरी मनाउँदै आएको छ
।