
धुलिखेल÷ काभ्रेपलाञ्चोक १४ हजार २९५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंशिर ३० गतेसम्म १४ हजार भन्दा बढी मतदाताले नाम दर्ता गरेका हुन । ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको काभ्रेपलाञ्चोक जिल्लामा गत असोज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक थियो । त्यसयता नयाँ तथ्यांक अनुसार कुल संख्या ३ लाख २६ हजार ६११ पुगेको हो । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् । जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् । जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् । जिल्लामा हाल १ सय ९० वटा मतदानस्थल र ३ सय ८९ वटा मतदान केन्द्र कायम राखिएको छ ।