
काभ्रे । जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको आयोजना तथा बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागत साझेदारीमा सञ्चालन गरिएको “ऋण लगानी, असुली व्यवस्थापन तथा देखिएका समस्या र समाधानका उपायहरू सम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम” सम्पन्न भएको छ ।

समापन समारोहमा जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष एवं प्रमुख अतिथि अमन पोटे श्रेष्ठले सहकारी संस्थाको दिगोपनका लागि ऋण लगानीमा अनुशासन, समयमै असुली र जोखिम व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिम कार्यक्रमहरूले सहकारीको संस्थागत क्षमता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सहकारी क्षेत्रका विज्ञ एवं प्रशिक्षक कुवेर निरौलाले ऋण लगानी प्रक्रिया, असुली व्यवस्थापनका व्यवहारिक उपाय, कानुनी तथा नीतिगत व्यवस्था, समस्याग्रस्त ऋणको व्यवस्थापन र समाधानका रणनीतिहरूका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो ।
कार्यक्रमको संयोजन शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक शान्ति लामा तामाङले गरेकी थिइन् भने सह–संयोजकको जिम्मेवारी स्रोत परिचालन तथा अन्तर लगानी उपसमितिका संयोजक अर्जुन प्रसाद सापकोटाले गरेका थिए ।
कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाल, संस्थापक अध्यक्ष विवेक राज ठकुरी, संघका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, कर्मचारीहरू तथा जिल्लाभरिका विभिन्न प्रारम्भिक सहकारी संस्थाका समिति, उपसमिति र ऋण विभागमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त व्यवहारिक, ज्ञानवर्ध्दक तथा प्रभावकारी रहेको प्रतिक्रिया व्यक्त गरेका छन् । समापन अवसरमा कार्यक्रम संयोजकद्वारा तालिममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण प्रशिक्षार्थी, प्रशिक्षक तथा अतिथीहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
यस अवसरमा जिल्ला सहकारी संघ लि. काभ्रेका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले उक्त तालिमले सहकारी संस्थामा कार्यरत कर्मचारीहरूको ऋण लगानी तथा असुली व्यवस्थापनसम्बन्धी विद्यमान ज्ञान, सीप र क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
ऋण लगानीको गुणस्तर अभिवृद्धि, असुली व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा व्यवहारमा देखिएका समस्या पहिचान गरी समाधानका उपायका विषय अवलम्बन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिमको समापन समारोह १२ गते सोमबार सम्पन्न भएको कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि. काभ्रेका सचिव प्रकाश बञ्जाराले गरेका थिए ।