
धुलिखेल/ काभ्रेका महिला तथा युवा उद्यमीहरूलाई लक्षित गर्दै नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काभ्रेले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
धुलिखेलस्थित होटल हिमालयन होराइजनमा शुक्रबार दिउँसो सञ्चालन गरिएको कार्यक्रममा काभ्रेका महिला उद्यमीहरू तथा एनवाईईएफका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले व्यवसाय सञ्चालनका विभिन्न पक्षमा आफ्ना अनुभव साटासाट गर्नुका साथै नयाँ ज्ञान हासिल गर्ने अवसर पाएका थिए।
कार्यक्रमको उद्देश्य महिला उद्यमीहरूमा बजार व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु, करसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्नु तथा महिला उद्यमी सशक्तीकरणमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ।
एनवाईईएफ काभ्रेका अनुसार यस्ता कार्यक्रमहरूले उद्यमीहरूलाई व्यवसाय विस्तार, कानुनी प्रक्रियाको बुझाइ तथा बजार व्यवस्थापनमा थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, सहभागीहरूबीच अनुभव आदान–प्रदान र आपसी सञ्जाल विस्तारको अवसर समेत सिर्जना हुने बताइएको छ।
कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। उनीहरूले उद्यमीहरूका जिज्ञासा समाधान गर्दै व्यावहारिक सुझावहरू प्रदान गरेका थिए।
कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष ज्योत्सना सैंजुले प्रस्तुति दिनुभएको थियो। त्यसैगरी, अजय थापा र सुनिल श्रेष्ठले वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रमको समापन मञ्चका अध्यक्ष आसिश हुमागाईंले गर्नुभएको थियो।