
बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०८३ वैशाख २६ गते छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता गर्ने भएको छ । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरेर माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित गरेर कार्यक्रम गर्न लागिएको जानकारी दिएका हुन । कार्यक्रममा छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुने प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो । पाँचौं संस्करणमा २ सय ५० जना बिद्यार्थी सहभागी थिए । गतवर्ष भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकले राखेका छन । छात्रहरुको ७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने प्रवन्ध निर्देशक वैद्यले जानकारी दिए । प्रतियोगिता व्यवस्थित गर्न २०० जना स्वंयमसेवक, सुरक्षाकर्मी समेत परिचालन हुने प्रतिस्ठानले जनाएको छ ।