
च्याम्राङवेशी/बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा बेथानचोक गाउँपालिका–१ च्यामरङबेसीमा गाउँपालिकाकै पहिलो बेली ब्रिज निर्माण सम्पन्न भएको छ। करिब १ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै स्थानीयवासीको वर्षौंदेखिको आवागमन समस्या समाधान हुने अपेक्षा गरिएको छ।
च्यामरङबेसी–झिङ्गे सडक खण्डमा निर्माण गरिएको बेली ब्रिजको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पूर्वाधार विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले पुल सञ्चालनमा आएपछि सुकुमफेदी, च्यामरङबेसी, झिङ्गे लगायतका बस्तीका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो।
विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा आवतजावतमा हुने कठिनाइ अन्त्य हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। पुल निर्माणसँगै कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा अन्य सेवामा नागरिकको पहुँच समेत सहज हुने अपेक्षा गरिएको छ।
अध्यक्ष अधिकारीले बागमती प्रदेश सरकारको सहयोग र गाउँपालिकाको प्रतिबद्धताले महत्वपूर्ण पूर्वाधार निर्माण सम्भव भएको बताउँदै आगामी दिनमा पनि यस्ता विकास आयोजनालाई निरन्तरता दिइने जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राणा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, इन्जिनियर ज्ञानप्रसाद तिमल्सिना, वडा नं. १ का अध्यक्ष मधुसूदन तिमल्सिना लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
बेथानचोक गाउँपालिकामा पहिलो पटक निर्माण भएको यस बेली ब्रिजलाई ग्रामीण पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।