
धुलिखेल/अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा जारी सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन असार १४ गतेदेखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइने भएको छ। साथै, सो अवधिमा रातिको समयमा अन्य सवारीसाधन सञ्चालनमा समेत प्रतिबन्ध लगाइने भएको छ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा पाँचखाल नगरपालिकाका उपप्रमुख, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकको निर्णयअनुसार धुलिखेल–खावा सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेश पूर्ण रूपमा निषेध गरिनेछ। त्यसैगरी, टिपरबाहेकका अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा प्रवेश गर्न रोक लगाइनेछ।
यद्यपि, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको छ।
सवारी व्यवस्थापन तथा चालकहरूलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने जनाइएको छ। साथै, निर्णयबारे आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयलाई दिइएको छ।
सडक निर्माणको बाँकी काम निर्धारित समयमा सम्पन्न गरी यातायात सञ्चालनलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।