
भकुण्डेबेँसी/नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि, पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याइएको नगरपालिकाले जनाएको छ।
नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशन (बजेट अधिवेशन) को पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
नगर प्रमुख कुनसाङ लामाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा ‘कृषि, पर्यटन र व्यापार : समृद्ध नमोबुद्धको आधार’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा जोड दिइएको छ।
प्रस्तुत बजेटमा आन्तरिक आय ९ करोड २४ लाख ५६ हजार रुपैयाँ रहने अनुमान गरिएको छ भने संघीय सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड तथा अन्य स्रोतसमेत समेटिएका छन्। चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने नगरस्तरीय प्रकोप व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। विभिन्न निकायसँगको लागत साझेदारी कार्यक्रमका लागि ९ करोड १५ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
बजेटले कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, उद्यमशीलता प्रवर्द्धन र कोल्ड स्टोर निर्माणका कार्यक्रम समेटिएका छन्। दाहालचौरमा निर्माणाधीन कोल्ड स्टोरलाई बहुवर्षीय योजनाका रूपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। विस्तारित बजार क्षेत्रमा मानव मलमूत्र व्यवस्थापनका लागि ५० लाख रुपैयाँ लागतमा सक्सन मेसिन खरिद गरिने भएको छ।
स्वास्थ्य क्षेत्रतर्फ दाप्चा नमोबुद्ध नगर अस्पतालको सुदृढीकरण, मानसिक स्वास्थ्य सेवा विस्तार, आयुर्वेद सेवा प्रवर्द्धन, गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गर्ने योजना बजेटमा समावेश गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको मासिक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता निरन्तरता दिइएको छ भने अवकाश हुँदा २० हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ।
शिक्षा क्षेत्रमा बालमैत्री नगरपालिका घोषणा, विद्यार्थी छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक निर्माण, ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम, करियर काउन्सिलिङ तथा प्रविधिमैत्री विद्यालय विकासलाई प्राथमिकतामा राखिएको छ। माध्यमिक तहका शिक्षकको तलबभत्ताका लागि ४ करोडभन्दा बढी र आधारभूत तहका शिक्षकका लागि १३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक सुरक्षाअन्तर्गत बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई घरदैलोमै भत्ता वितरण गर्ने व्यवस्था निरन्तरता दिइने भएको छ। साथै बालमैत्री नगर घोषणा, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण तथा सडक मानवमुक्त नगर अभियान सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
पूर्वाधार विकासतर्फ संघ र प्रदेश सरकारसँगको सहकार्यमा सडक निर्माणलाई प्राथमिकता दिइएको छ। वडा नं. ७ को नौबिसे–साउनेडाँडा सडकका लागि ३ करोड ५० लाख रुपैयाँ, वडा नं. ३ को दाहालचौर–तिमाल सडक, वडा नं. १० को दलसिङ्गे–दाप्चा सडक तथा वडा नं. १ को हिराको पसल–मथुरापाटी सडकका लागि जनही २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
विपद् व्यवस्थापनका लागि भू–सूचना प्रणाली, आपतकालीन सञ्चालन केन्द्र, खुला स्थान संरक्षण तथा पुनर्निर्माण कार्यक्रम सञ्चालन गरिने भएको छ। यस्तै वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र स्थापना, स्रोतमै फोहोर वर्गीकरण, डिजिटल प्रशासन, साइबर सुरक्षा, सार्वजनिक सुनुवाइ तथा शून्य बेरुजु नीतिलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई २ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ।
नगर प्रमुख कुनसाङ लामाले प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटले उत्पादनमुखी अर्थतन्त्रको विकास, रोजगारी सिर्जना, सामाजिक न्याय, दिगो विकास तथा विपद्पछिको पुनर्निर्माणलाई गति दिने विश्वास व्यक्त गरेका छन्।