
पोखरी नारायणस्थान/तेमाल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले पालिका तथा वडा कार्यालय जोड्ने रणनीतिक सडकहरूको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। बोहोरेदोभान–आधाबाट–डाँडागाउँ–रोसाइवा सडक, गिम्दीवेशी–रोसाइवा–ठूलोपर्सेल बसपार्क सडक, माम्ती–टेकानपुर–खत्रीगाउँ–मैनाजङ्ग–सुनकोशी पुल सडक लगायतका योजनामा करोडौँ रुपैयाँ विनियोजन गरिएको छ। मैनाजाङ आधारभूत विद्यालयको पूर्वाधार विकासका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ।
उपाध्यक्ष दलमान थोकरद्वारा प्रस्तुत बजेटमा पूर्वाधार विकासका लागि ४ करोड १३ लाख ९१ हजार, सामाजिक विकासका लागि ४ करोड ४५ लाख ३४ हजार, आर्थिक विकासका लागि १ करोड ३७ लाख, वन तथा विपद् व्यवस्थापनका लागि ७५ लाख र सुशासन विकासका लागि १३ करोड २३ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
नीति तथा कार्यक्रममा कृषि आधुनिकीकरण, बुद्धचित्त माला लगायत स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण, साथै घेलुङ, तोङसुम कुण्ड, ह्रोसाइवा, सत्यनारायण मन्दिर तथा बौद्ध धार्मिक सम्पदाको पर्यटन प्रवर्द्धनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाले सीमित स्रोतसाधनका बाबजुद विकास निर्माणका अधुरा कामलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जनाएको छ।