मनसुनजन्य विपद्का लागि बागमतीको पूर्वतयारीः राहत सामग्रीदेखि सुरक्षा संयन्त्रसम्म ‘हाई अलर्ट’

‘विगतको सिकाइलाई कार्यान्वयनमा उतारेर क्षति न्यूनीकरण गर्नुपर्छ’:मुख्यमन्त्री बानियाँ
  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ अषाढ २७, शनिबार (१ महिना अघि)
  • ११२ पटक पढिएको

मनसुनजन्य विपद्का लागि बागमतीको पूर्वतयारीः राहत सामग्रीदेखि सुरक्षा संयन्त्रसम्म ‘हाई अलर्ट’

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मुल्यांकन गर्दै बागमती प्रदेश सरकारले पुर्वतयारीलाई तिव्रता दिएको छ । मनसुनजन्य विपदको उच्च जोखिममा रहेकाले बागमती सरकारले विपद् व्यवस्थापन पुर्व तयारीलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
विपद पुर्व तयारी स्वरुप शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुरक्षा निकायसँगको समन्वय तथा छलफल गरेका छन् । विगतका विपद्बाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायसँग छलफल गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मनसुनका कारण बढी प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरेर समयमै पूर्वतयारी गर्न सके जनधनको क्षति घटाउन सकिने बताए । उनले विगतका विपद्का अनुभव नै अहिलेको सबैभन्दा ठूलो सिकाइ भएकाले अब प्रतिक्रिया होइन, पूर्वतयारीको मोडेलमा जानुपर्ने आवश्यकता औँल्याए ।
‘विगतको भोगाइ नै अहिलेको सिकाइ हो । बागमती प्रदेशका कुन–कुन क्षेत्रमा वर्षा र मनसुनका कारण बढी क्षति हुन सक्छ भन्ने पहिचान गरेर अहिले नै तयारी गर्नुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले सम्भावित पहिरो, बाढी र डुबान प्रभावित क्षेत्रहरूको अध्ययन गरिरहेको छ । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रिम रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ । उनले विपद् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पक्ष पूर्वतयारी भएको उल्लेख गर्दै विपद् आइसकेपछि उद्धारमा मात्र केन्द्रित हुने अभ्यास परिवर्तन गर्नुपर्ने बताए ।
मुख्यमन्त्री बानियाँले राष्ट्रिय अनुसन्धान विभागले सम्भावित जोखिम सम्बन्धी सूचना तत्काल उपलब्ध गराउने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो विशेष तालिम र क्षमताअनुसार उद्धार कार्य सञ्चालन गर्ने बताए । उनले सबै सुरक्षा निकायको तालिम, उपकरण र कार्यशैली फरक–फरक हुने भएकाले एउटै ढाँचामा होइन, विशेषज्ञता अनुसार परिचालत हुन पनि स्पष्ट पारे ।
‘नेपाल प्रहरीले प्रयोग गर्ने सबै उपकरण सशस्त्रले प्रयोग गर्दैन, सशस्त्रले प्रयोग गर्ने सबै सामग्री सेनाले प्रयोग गर्दैन । त्यसैले सबै निकायको विशिष्टीकृत क्षमता उपयोग गरेर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ,’ उनले भने
मुख्यमन्त्री बानियाँले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । उनका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग नियमित सूचना आदानप्रदान हुने व्यवस्था मिलाइनेछ । स्थानीय तहमा रहेका प्रहरी तथा उद्धार संयन्त्रलाई थप क्षमता विकास तालिम दिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । उनले विपद्का बेला स्थानीय सरकार नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूको तयारी मजबुत बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले सुरक्षाका तीनवटै निकायलाई विपद् पूर्व तयारीका लागि आवस्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री बानियाँले झण्डै साँढे दुई करोड ७५ लाख बराबरको सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाको लागि ७५ लाख ६२ हजार २९९, नेपाल प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र शसस्त्र प्रहरी बल नेपाललाई एक करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँ बराबरको विपद् प्रतिकार्यका लागि आवस्यक सामाग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्ट लगाएतका सामाग्रहरु रहेका छन् ।
राहत सामग्री रणनीतिक स्थानमा भण्डारण
मनसुनका बेला सडक सम्पर्क विच्छेद हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न रणनीतिक स्थानमा उद्धार तथा राहत सामग्री भण्डारण गरिसकेको छ । मुख्यमन्त्री बानियाँका अनुसार नुवाकोट र मकवानपुरको हेटौँडा–थानाभ¥याङलगायतका स्थानमा आवश्यक सामग्री सुरक्षित रूपमा राखिएको छ । आवश्यकता अनुसार ती सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले जानकारी दिए । प्रदेश सरकारले आगामी दिनमा थप आवश्यक सामग्री खरिद गरेर सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारीसमेत गरेको उनले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस