
भकुण्डेबेसी/पर्यावरण संरक्षण, खाद्य सुरक्षा र कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ काठमाडौं हाइट ले सोमबार श्री जनक माध्यमिक विद्यालय, भकुण्डेबेसी, नमोबुद्ध नगरपालिका–४ मा ७०० जलवायु उत्थानशील तथा उच्च मूल्यका फलफूलका बिरुवा (स्याउ, सुन्तला, कागती, आरु, दातेओखर, म्याकेडेमिया नट लगायत) वितरण तथा बिधालयको बाझो जग्गामा वृक्षारोपण कार्यक्रम गरि सम्पन्न गरेको छ।
कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नररोटेरियन विष्णुबहादुर कार्की ले सञ्चालन गरिरहेको “एक लाख वृक्षारोपण अभियान” लाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो। रोटरी क्लब अफ काठमाडौं हाइटले विगत सात वर्षदेखि आफ्नो प्रमुख वातावरणीय अभियान “रोटरी छाहारी” अन्तर्गत सामुदायिकफलवन (Food Forest) निर्माण गर्दै आएको छ।
यस वर्ष विद्यालयका ७०० विद्यार्थीलाई स्मृतिस्वरूप एक–एक फलफूलको बिरुवा प्रदान गरिएको छ। विद्यार्थीहरूले आफ्नै घर तथा समुदायमा बिरुवा रोपेर संरक्षण गर्ने, फल उत्पादन गर्ने र भविष्यमा त्यसलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।
कार्यक्रम रोटरी क्लब अफ क्रानब्रुक सनराइज र रोटरी क्लब अफ कोलम्बिया सेन्टर (अमेरिका) को सहयोगमा सञ्चालित रोटरी डिस्ट्रिक्ट ग्रान्ट अन्तर्गतको नेपाल स्कूल सपोर्ट इनिसिएटिभ (NSSI)परियोजनाअन्तर्गत सम्पन्न भएको हो। कार्यक्रमलाई संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टर ले प्राविधिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष रोटेरियन श्रीकृष्ण धितालले वृक्षारोपण अभियानलाई बिरुवा वितरणमा मात्र सीमित नराखी कृषि उत्पादनलाई बजारसँग जोड्ने दीर्घकालीन योजना रहेको बताउनुभयो। उहाँका अनुसार क्लबले आगामी दिनमा फलफूल मूल्य शृङ्खला (Value Chain) मा आधारित कार्यक्रम सञ्चालन गरी किसान तथा युवा उद्यमीलाई बगैंचा व्यवस्थापन, उत्पादन संकलन, प्रशोधन, ब्रान्डिङ, बजार पहुँच र उचित मूल्य सुनिश्चित गर्न सहयोग गर्नेछ।
धितालले नेपालमा बढ्दो फलफूल आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादन वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै फलवन विकासले खाद्य सुरक्षा, ग्रामीण रोजगारी, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा जलवायु उत्थानशील कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले योजनाबद्ध फलवन निर्माणले बाँदर, बँदेल, हरिणलगायत वन्यजन्तुका लागि प्राकृतिक आहारको व्यवस्था भई कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अतिथि तथा नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्ले ले जन्मदिन वा अन्य विशेष अवसरमा केक काट्ने परम्परालाई फलफूलको बिरुवा रोप्ने संस्कृतिसँग जोड्न सके समाज र वातावरण दुवैका लागि सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो। उहाँले फलवन निर्माणले वातावरण संरक्षणका साथै वन्यजन्तुले कृषि क्षेत्रमा पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता दिगो र व्यवहारिक कार्यक्रम सञ्चालन गरेकोमा रोटरी क्लब अफ काठमाडौं हाइट प्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत दाहाल, रोटरी क्लब अफ काठमाडौं हाइटका पूर्वअध्यक्ष तथा सदस्यहरू, रोटर्याक्ट क्लब अफ काठमाडौं हाइट र रोटर्याक्ट क्लब अफ काठमाडौं मिडटाउनका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
रोटरी क्लब अफ काठमाडौं हाइटले “रोटरी छाहारी” अभियानलाई आगामी वर्षहरूमा फलवन विकास, कृषि उद्यमशीलता तथा मूल्य शृङ्खला विकाससँग जोड्दै किसानलाई उत्पादनदेखि बजारसम्म पहुँच दिलाउने दिगो अभियानका रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। क्लबले स्थानीय सरकार, विद्यालय, सहकारी, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय रोटरी साझेदारहरूसँगको सहकार्यमा हरित, समृद्ध र आत्मनिर्भर समुदाय निर्माणमा निरन्तर योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।