
काठमाडौं । रोटरी क्लब अफ रोटा वर्ष २०२६/२७ का लागि श्रीकृष्ण धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै १०औँ पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ।
समारोहमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर विष्णुबहादुर कार्कीले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष अरुण शर्मा, निर्वाचित अध्यक्ष दीपक तिवारी, उपाध्यक्ष अमित सापकोटा, सचिव विदुर सत्याल, सह–सचिव समिर नेपाल, कोषाध्यक्ष गोमा बजगाईं, सार्जेन्ट एट आर्म्स दुर्गा सापकोटा, क्लब सम्पादक राजाराम जोशी, सेवा संयोजक अबिन तुलाधर, टीआरएफ संयोजक सबिता काफ्ले, पब्लिक इमेज संयोजक सुनिल बस्नेत, सदस्यता संयोजक अंगीराश कार्की तथा प्रशासनिक संयोजक गोविन्द बानियाँ चयन भएका छन्। क्लबका सल्लाहकारमा संस्थापक अध्यक्ष समिर नेपाल तथा पूर्व अध्यक्षहरू मन्जुशा श्रेष्ठ, सुमीरा श्रेष्ठ, राजाराम जोशी र सचिन अवाले रहेका छन्।
कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बास, धुलिखेल अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु, नेपालका लागि फुलब्राइट आयोगका निर्देशक निक ल्याङटन, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गर्भनर राजेन्द्रमान शेरचन तथा केशवबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो।
रोटा वर्ष २०२५/२६ का अध्यक्ष अरुण शर्माले आफ्नो कार्यकालमा झापादेखि हुम्लासम्म विभिन्न सामाजिक सेवा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण तथा सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताए।
नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण धितालले आगामी कार्यकालमा युवा उद्यमशीलता, कृषि, वातावरण संरक्षण, स्वच्छ खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा र स्वास्थ्यका क्षेत्रमा प्राथमिकताका साथ काम गरिने बताए। उनले वर्षभरि सञ्चालन गरिने कार्यक्रमले समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने गरी योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गर्भनर विष्णुबहादुर कार्कीले विभिन्न स्थानमा छरिएर काम गर्नुको सट्टा कुनै एक गाउँ वा समुदायलाई केन्द्रमा राखेर निरन्तर सेवा गरे त्यसको प्रभाव र परिणाम अझ स्पष्ट रूपमा देखिने धारणा राखे।
नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले रोटरी क्लब अफ काठमाडौं हाइट र अध्यक्ष श्रीकृष्ण धितालले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सेवामूलक अभियानलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।
कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ काठमाडौं हाइटका पूर्व अध्यक्ष सुमीरा श्रेष्ठ, उपाध्यक्ष अमित सापकोटा, सचिव विदुर सत्याललगायत वक्ताहरूले रोटरीले शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे चर्चा गरेका थिए।