पहिरोले भत्काएको विद्यालयको शौचालय पुनर्निर्माणपछि रोटरी काठमाडौं हाइटद्वारा हस्तान्तरण

विपद्को घाउमा रोटरीको मल्हम : राहतदेखि पुनर्निर्माणसम्म निरन्तर साथ; जनजागृति आधारभूत विद्यालयमा नयाँ लैङ्गिकमैत्री शौचालय
  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ श्रावण २७, बुधबार (४ हप्ता अघि)
  • २२६ पटक पढिएको

पहिरोले भत्काएको विद्यालयको शौचालय पुनर्निर्माणपछि रोटरी काठमाडौं हाइटद्वारा हस्तान्तरण

काभ्रेपलाञ्चोक — २०८१ साल असोजमा परेको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले क्षतिग्रस्त नमोबुद्ध नगरपालिका–२ स्थित श्री जनजागृति आधारभूत विद्यालयको शौचालय पुनर्निर्माण गरी रोटरी क्लब अफ काठमाडौं हाइटले आज विद्यालयलाई हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, रोटरी परिवारका सदस्य तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो।
बाढी र पहिरोले विद्यालयको पुरानो शौचालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्यार्थी तथा शिक्षकहरू सुरक्षित र व्यवस्थित सरसफाइ सुविधाबाट वञ्चित भएका थिए। विशेषगरी छात्राहरूका लागि सुरक्षित, स्वच्छ र गोपनीय शौचालयको अभाव गम्भीर चुनौती बनेको थियो। यही आवश्यकतालाई सम्बोधन गर्दै रोटरी क्लब अफ काठमाडौं हाइटको पहलमा छात्रा र छात्रका लागि छुट्टाछुट्टै सुविधा भएको लैङ्गिकमैत्री शौचालय तथा हात धुने सुविधा निर्माण गरिएको हो।
विपद्का बेला राहत बोकेर समुदायमा पुगेको रोटरी
२०८१ साल असोजमा लगातार परेको भारी वर्षाले काभ्रेपलाञ्चोकसहित देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढी र पहिरोले घर, विद्यालय, सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त बनाउनुका साथै सयौँ परिवारको दैनिक जीवन र जीविकोपार्जनमा गम्भीर असर पारेको थियो।
नमोबुद्ध क्षेत्र पनि विपद्को चपेटामा परेका क्षेत्रमध्ये एक थियो।
त्यस कठिन घडीमा सरकारी तथा गैरसरकारी निकायसँगै रोटरी क्लब अफ काठमाडौं हाइट तत्काल राहत र सहयोग लिएर प्रभावित समुदायसम्म पुगेको थियो।
रोटरीले प्रभावित परिवार र विद्यालयहरूलाई पानी फिल्टर, आपत्कालीन बत्ती, खाद्यान्न तथा आवश्यक सामग्री राख्ने बकेट, न्यानो कपडा, खाद्य सामग्री तथा जीविकोपार्जनमा सहयोग पुग्ने विभिन्न सामग्री उपलब्ध गराएको थियो।
रोटरीको सहयोग तत्कालीन राहतमा मात्र सीमित रहेन। विपद्को तत्कालीन पीडाबाट प्रभावित समुदायलाई पुनः सामान्य जीवनतर्फ फर्काउन राहत, पुनर्स्थापना हुँदै पुनर्निर्माणसम्मको निरन्तर सहयोगलाई प्राथमिकता दिइयो।
त्यही निरन्तर अभियानको एउटा महत्वपूर्ण परिणाम हो—बाढी तथा पहिरोले ध्वस्त बनाएको जनजागृति आधारभूत विद्यालयको शौचालयको पुनर्निर्माण।
६२ विद्यार्थीका लागि सुरक्षित र मर्यादित विद्यालय वातावरण
नवनिर्मित शौचालयबाट विद्यालयका ६२ विद्यार्थी—३० छात्रा र ३२ छात्र—सहित शिक्षक तथा कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
सुरक्षित र सफा शौचालय तथा हात धुने सुविधाले विद्यार्थीको स्वास्थ्य, सरसफाइ, व्यक्तिगत मर्यादा र विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विशेषगरी किशोरी तथा छात्राहरूका लागि सुरक्षित र गोपनीय शौचालय सुविधा विद्यालयमा नियमित उपस्थितिका लागि महत्वपूर्ण हुने विद्यालय पक्षले जनाएको छ।
रोटरीको निरन्तर सहयोगले विद्यालयलाई ठूलो हौसला’
हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जीव ढकालले विपद्का कारण ध्वस्त भएको शौचालय पुनर्निर्माणमा सहयोग पुर्‍याउने रोटरी क्लब अफ काठमाडौं हाइट तथा सम्पूर्ण सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे।
अध्यक्ष ढकालले विद्यालयको विकासमा रोटरी क्लब अफ काठमाडौं हाइट तथा Engineers Without Borders–University of Florida Chapter ले विभिन्न समयमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष रोटेरियन श्रीकृष्ण धितालप्रति धन्यवाद व्यक्त गरे।
उनका अनुसार रोटरीको सहयोगबाट विद्यालयमा स्टेसनरी वितरण, न्यानो कपडा सहयोग, दिवा खाजा सहयोग तथा WASH कार्यक्रम लगायतका विभिन्न गतिविधि सञ्चालन भएका छन्।
“विद्यालयलाई आवश्यक परेको बेला रोटरीले निरन्तर साथ दिएको छ। यसले विद्यार्थी, शिक्षक र अभिभावकमा ठूलो उत्साह र भरोसा पैदा गरेको छ,” अध्यक्ष ढकालले बताए।
विभिन्न संस्थाको सहकार्यमा पुनर्निर्माण
शौचालय निर्माण तथा WASH सुधार परियोजनामा Mahalaxmi Bikas Bank, Rotary District 3292 को Basic Education & Literacy (BE&L) Committee, रोटरी क्लब अफ काठमाडौं, Rotary Club of Gananoque, Rotary Club of Kingston, Canada, विद्यालय तथा स्थानीय समुदाय लगायतको सहयोग र सहकार्य रहेको रोटरी क्लब अफ काठमाडौं हाइटले जनाएको छ।
परियोजना निर्माणमा विद्यालय र स्थानीय समुदायको सहभागिताले स्थानीय स्वामित्व, अपनत्व र दीर्घकालीन संरक्षणलाई समेत बलियो बनाएको छ।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं हाइटका तत्कालीन निवर्तमान अध्यक्ष रोटेरियन अरुण शर्मा, पूर्व अध्यक्ष रोटेरियन सचिन अवाले, रोट्रयाक्टर अभिप्सा, रोटरी परिवारका सदस्य तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।
त्यसैगरी नमोबुद्ध नगरपालिका–१ की वडा प्रतिनिधि रूपा प्याकुरेल पनि हस्तान्तरण कार्यक्रममा सहभागी थिइन्।
‘यो भवन सहकार्य र साझा प्रतिबद्धताको परिणाम हो’श्रीकृष्ण धिताल :
कार्यक्रममा बोल्दै रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष रोटेरियन श्रीकृष्ण धितालले परियोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
धितालले विशेषगरी तत्कालीन निवर्तमान अध्यक्ष रोटेरियन अरुण शर्मा, सम्बन्धित वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी र विद्यालय परिवारको निरन्तर साथ, समन्वय र सहकार्य परियोजना सम्पन्न गर्न निर्णायक रहेको बताए।
उनले विपद्पछिको अवस्थामा विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी परियोजनालाई अघि बढाउन रोटेरियन अरुण शर्माको निरन्तर साथ, वडा कार्यालयको सहजीकरण र विद्यालयको सम्पूर्ण टोलीको सक्रिय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे।
“यो शौचालय भवन केवल रोटरीको सहयोगमा बनेको संरचना होइन। यो विपद्बाट प्रभावित विद्यालयलाई पुनःस्थापित गर्ने साझा प्रतिबद्धता, सहकार्य र समुदायप्रतिको जिम्मेवारीको परिणाम हो,” धितालले भने।
उनले २०८१ साल असोजको बाढी र पहिरोका बेला रोटरी क्लब अफ काठमाडौं हाइटले प्रभावित समुदायको आवश्यकता अनुसार तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणसम्म सहयोग गर्दै आएको बताए।
“विपद्को बेला समुदायलाई तत्काल आवश्यक पर्ने पानी, प्रकाश, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनु हाम्रो पहिलो प्राथमिकता थियो। तर राहत दिएर मात्र हाम्रो जिम्मेवारी सकिँदैन। विपद्ले भत्काएका संरचना र प्रभावित समुदायको जीवनलाई पुनः उभ्याउन पनि निरन्तर साथ आवश्यक हुन्छ,” धितालले भने।
उनका अनुसार रोटरी क्लब काठमाडौं हाइटले आगामी दिनमा पनि स्थानीय समुदाय र विद्यालयका वास्तविक आवश्यकता पहिचान गरी शिक्षा, WASH, स्वास्थ्य, वातावरण, जीविकोपार्जन तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिनेछ।
राहतदेखि पुनर्निर्माणसम्म—रोटरीको निरन्तर यात्रा
जनजागृति आधारभूत विद्यालयको शौचालय हस्तान्तरणलाई रोटरी क्लब अफ काठमाडौं हाइटले विपद् राहत, पुनर्स्थापना र दीर्घकालीन सामुदायिक विकासलाई जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
२०८१ असोजको विपद्का बेला प्रभावित परिवारलाई पानी फिल्टर, आपत्कालीन बत्ती, खाद्यान्न, आवश्यक सामग्री, न्यानो कपडा तथा जीविकोपार्जन सहयोग उपलब्ध गराएको रोटरीले त्यसपछि पनि विद्यालय र समुदायका आवश्यकतालाई निरन्तर सम्बोधन गर्दै आएको छ।
स्टेसनरी, न्यानो कपडा, दिवा खाजा, WASH पूर्वाधार तथा अन्य सामुदायिक सहयोगका कार्यक्रममार्फत रोटरीले विपद्पछिको समुदाय पुनर्स्थापनालाई शिक्षा र बालबालिकाको हितसँग जोड्दै अघि बढाएको छ।
नवनिर्मित शौचालयको हस्तान्तरणसँगै विद्यालयले अब विद्यार्थीका लागि सुरक्षित, स्वच्छ र मर्यादित सरसफाइ सुविधा प्राप्त गरेको छ। विद्यालय, वडा कार्यालय, रोटरी, सहयोगी संस्था र समुदायबीचको यो सहकार्यले विपद्बाट भत्किएको संरचना मात्र पुनर्निर्माण गरेको छैन, समुदायको भरोसा र बालबालिकाको सुरक्षित भविष्यप्रतिको आशालाई समेत बलियो बनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस