रोटरी क्लब अफ पनौतीको अध्यक्षमा राजेश सुन्दर सैंजू

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ श्रावण ३०, शनिबार (३ हप्ता अघि)
  • १३६ पटक पढिएको

रोटरी क्लब अफ पनौतीको अध्यक्षमा राजेश सुन्दर सैंजू

पनौती/रोटरी क्लब अफ पनौतीको अध्यक्षमा रोटरीयन राजेश सुन्दर सैंजू चयन भएका छन्। क्लबको ११औँ पदस्थापन तथा पद हस्तान्तरण समारोहका अवसरमा सैंजूले नयाँ कार्यसमितिको नेतृत्व सम्हालेका हुन्।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरीयन विष्णुबहादुर कार्कीले नवनिर्वाचित अध्यक्ष सैंजूलाई प्रेसिडेन्ट कलर तथा क्लब चार्टर प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यसपछि अध्यक्ष सैंजूले आफ्नो कार्यसमितिका नयाँ पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर कार्की तथा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए। नगर प्रमुख भण्डारीले समुदायमा सामाजिक अभियान सञ्चालन तथा सेवामूलक क्षेत्रमा रोटरीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। भण्डारी रोटरी क्लब अफ पनौतीका मानार्थ सदस्यसमेत हुन्।
निर्वतमान अध्यक्ष रोटरीयन यतिराज अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गर्दै आफ्नो कार्यकालमा सम्पन्न महत्वपूर्ण गतिविधिबारे जानकारी गराएका थिए।
नवनिर्वाचित अध्यक्ष सैंजूले आगामी कार्यकालका योजना तथा प्राथमिकता प्रस्तुत गर्दै क्लबका सेवामूलक र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायका आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा अन्य क्षेत्रमा रोटरीको भूमिका अझ बलियो बनाउने बताए।
समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर तथा पनौती–९ का दिवाकर खत्रीको खत्री कृषि फर्मलाई ड्रोन–दुर्गा एनिमल वेलफेयर अवार्ड प्रदान गरिएको थियो। त्यस्तै, देवसुन्दर मेमोरियल एजुकेटर अवार्ड तिर्थदास कर्माचार्यलाई, देवसुन्दर–पुनदेवी पनौती पत्रकारिता अवार्ड नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनालाई तथा कलाकार अवार्ड पुनम बश्याललाई प्रदान गरिएको थियो।
कार्यक्रममा क्लबका नयाँ सदस्यहरूको परिचय गराउँदै शपथ ग्रहणसमेत गराइएको थियो। असिस्टेन्ट गभर्नर रोटरीयन राजेश श्रेष्ठले नयाँ सदस्यहरूलाई रोटरी पिन प्रदान गरेका थिए।
क्लबका सेक्रेटरी रोटरीयन मनिष भैला र रोटरीयन डा. नारायणचरण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। रोटरीयन मधुसुदन गुरागाईंले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने रोटरीयन लिलानाथ सापकोटाले बैठकका विषयहरू प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।
नयाँ नेतृत्वसँगै रोटरी क्लब अफ पनौतीले आगामी कार्यकालमा सामाजिक सेवा र समुदाय केन्द्रित अभियानलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस