भकुण्डेवेशी प्रहरी प्रकरणले लियो नयाँ मोड, भिडियो खिच्ने र फैलाउनेमाथि फौजदारी अनुसन्धान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ भाद्र २, मंगलबार (३ हप्ता अघि)
  • २४८ पटक पढिएको

भकुण्डेवेशी प्रहरी प्रकरणले लियो नयाँ मोड, भिडियो खिच्ने र फैलाउनेमाथि फौजदारी अनुसन्धान

भकुण्डे/ काभ्रेको नमोबुद्ध नगरपालिका–४ भकुण्डेवेशीस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) गणेशकुमार श्रेष्ठसँग जोडिएको भिडियो प्रकरणले नयाँ मोड लिएको छ। घटनामा देखिएकी युवतीले आफ्नो व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा गम्भीर असर परेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएपछि प्रहरीले भिडियो खिच्ने, सार्वजनिक गर्ने तथा सामाजिक सञ्जालमार्फत प्रसार गर्ने व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान अघि बढाएको जनाएको छ।
सामाजिक सञ्जालमा सोमबार बिहानदेखि श्रेष्ठ एक गेस्ट हाउसमा युवतीसँग रहेको अवस्थामा ‘रङ्गेहात पक्राउ’ गरिएको दाबी गर्दै भिडियो व्यापक रूपमा प्रसार भएको थियो। भिडियोमा केही व्यक्तिहरू कोठाभित्र प्रवेश गरी युवतीले अनुहार छोप्न खोज्दासमेत क्यामेराले दृश्य खिचेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि युवतीको पहिचानसमेत सामाजिक सञ्जालमा फैलिएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार युवतीको जाहेरीका आधारमा घटनालाई विभिन्न कानुनी कोणबाट अनुसन्धान भइरहेको छ। व्यक्तिगत गोपनीयताको उल्लंघन, साइबर अपराध तथा अभद्र व्यवहारलगायतका विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानको दायरामा भिडियो खिच्ने व्यक्ति मात्र नभई त्यसलाई सामाजिक सञ्जालमा अपलोड गर्ने, सार्वजनिक गर्ने तथा पुनः प्रसार गर्ने व्यक्तिहरूसमेत आउन सक्ने प्रहरीले जनाएको छ। यससँगै हिजोसम्म भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यलाई ‘समाचार’ वा ‘अनुगमन’का रूपमा प्रस्तुत गर्ने समूहसमेत अनुसन्धानको घेरामा पर्न सक्ने देखिएको छ।
यसैबीच सई श्रेष्ठमाथि प्रहरी संगठनले छुट्टै आन्तरिक छानबिन अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले श्रेष्ठको पदीय आचरण, अनुशासन तथा घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको बताइएको छ। समितिको प्रतिवेदनका आधारमा दोषी देखिए विभागीय कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।
घटनाले एकैपटक दुई फरक कानुनी पक्षलाई सतहमा ल्याएको छ। एकातर्फ प्रहरी कर्मचारीको पदीय आचरणबारे विभागीय छानबिन भइरहेको छ भने अर्कोतर्फ कुनै व्यक्तिको निजी अवस्थाको भिडियो खिच्ने, अनुमति बिना सार्वजनिक गर्ने तथा सामाजिक सञ्जालमा फैलाउने कार्य कानुनको दायरामा पर्न सक्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धानबाट स्पष्ट हुने जनाएको छ। अनुसन्धान अघि बढेसँगै भिडियो निर्माण तथा प्रसारमा संलग्न व्यक्तिहरूको पहिचान र उनीहरूको भूमिकामाथि समेत प्रहरीले निगरानी बढाएको बताइएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस