
धुलिखेल/लाहाछाप मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा समाजसेवा, उद्यमशीलता, पत्रकारिता तथा सार्वजनिक सेवाका क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ ।
धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा आयोजित विशेष समारोहमा समाजसेवी कल्पना क्षेत्री, मेनुका थापा, साहसिक राइडर मिङ्मा लामा, सञ्चारकर्मी रमिला गौतम, डली शाह, व्यवसायी डिकिला शेर्पा लामा र यमुना श्रेष्ठलाई ‘विशेष सम्मान’ प्रदान गरिएको हो ।
त्यस्तै, जिल्लाका विभिन्न स्थानीय तहमा सक्रिय महिला उद्यमीहरूलाई ‘महिला उद्यमी प्रोत्साहन सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा धुलिखेलकी सुनैना श्रेष्ठ, बनेपाका पेमा लामा र चुना बास्तोला, पनौतीका श्रेयश्री बन्जारा र रीता कर्माचार्य, नमोबुद्धकी पञ्चुमाया तामाङ, मण्डनदेउपुरकी दिक्षा पौडेल, भुम्लुकी लक्ष्मी खरेल, तेमालकी कविता लामा, रोशीकी लक्ष्मी वाइबा, बेथानचोककी शर्मिला श्रेष्ठ, खानीखोलाकी दीपा स्याङतान, महाभारतकी तीर्थमाया वाइबा, पाँचखालकी रिता सिग्देल र चौँरीदेउरालीकी लक्ष्मी मुडभरी रहेका छन् ।
वार्षिकोत्सवकै अवसरमा लाहाछाप मिडियाका संस्थापक जितेन्द्र कुमार थापालाई ‘संस्थापक सम्मान’ प्रदान गरिएको थियो । संस्थागततर्फ नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, जनस्वास्थ्य कार्यालय काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा र काभ्रे सेवा समाजलाई सम्मान गरिएको थियो ।
नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मान प्रदान गर्दै सकारात्मक विषयलाई प्राथमिकता दिँदै जिम्मेवार पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे । सञ्चारमाध्यमले चाहेको व्यक्तिलाई देवत्वकरण र मन नपरेको व्यक्तिलाई नकारात्मक रूपमा प्रस्तुत गर्न सक्ने भएकाले पत्रकारिता निष्पक्ष र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य तीर्थ लामाले पत्रकारितामार्फत जिल्लाको समृद्धिमा योगदान पुर्याउन आग्रह गरे । नजिक वा टाढाको सम्बन्धका आधारमा कसैको पक्ष वा विपक्षमा नभई तथ्य र सत्यका आधारमा पत्रकारिता गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोकका सभापति प्रविण ढकाल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मुक्तान, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, महिला उद्यमी महासंघकी उपाध्यक्ष महालक्ष्मी श्रेष्ठलगायतले सत्य, जिम्मेवार र उत्तरदायी पत्रकारिताको यात्रालाई थप सशक्त बनाउन शुभकामना दिएका थिए ।
लाहाछाप मिडियाका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार इश्वरी ओझाले अनलाइन मिडियालाई पत्रकारिताको चौथो पुस्ताका रूपमा अघि बढाउँदै सञ्चारकर्मसँगै जिल्लाको समृद्धि र विकासमा योगदान तथा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रबन्ध सञ्चालक बद्रिराज तिमल्सिनाले काभ्रेपलाञ्चोकको आर्थिक तथा सामाजिक विकासमा महिला उद्यमीले पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको बताए । उनले जिल्लाको सञ्चार क्षेत्रमा नयाँ प्रयोग गर्दै लाहाछाप मिडियालाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने बताए ।
कार्यक्रममा धुलिखेलका कार्यवाहक प्रमुख निराजन जंगम, बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहाल, बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेसहित विभिन्न पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
वार्षिकोत्सव समारोहमा लाहाछाप मिडियाले प्रारम्भ गर्न लागेको नयाँ पोडकास्टको प्रोमोसमेत सार्वजनिक गरिएको थियो ।