
काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बनेपा ब्वाईज क्लब (बीबीसी) र मातृसंस्था टिम बीबीसीले १ लाख ७ हजार ९१२ रुपैयाँ सहयोग गरेको छ।
क्लबको आह्वानमा सदस्य, साथी तथा शुभचिन्तकसहित ३२ जना दाताबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्लबले जनाएको छ। विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थापित विपद् कोषमार्फत रकम संकलन गरिएको हो।
क्लबका अध्यक्ष महेशकुमार कर्माचार्य तथा टिम बीबीसीका संस्थापक संयोजक सुशील राजबंशीले सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँहरूले विपद्को समयमा मानवीय सेवाभावका साथ सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
