बनेपामा असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०२६ हुने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ भाद्र २८, आईतबार (१ महिना अघि)
  • १७८ पटक पढिएको

बनेपामा असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०२६ हुने

बनेपा / काभ्रे लेडी जेसीजको आतिथ्यतामा आगामी असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०२६ बनेपामा आयोजना हुने भएको छ। सम्मेलनको तयारी, उद्देश्य र आकर्षणका विषयमा आइतबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।

सम्मेलन निर्देशक सुमित्रा श्रेष्ठका अनुसार, सम्मेलनमा नेपालका चारवटै क्षेत्रका करिब ६ सय युवा सहभागी हुने अनुमान गरिएको छ। नेपाल जेसीजको क्षेत्र ‘ग’ अन्तर्गत बागमती प्रदेशका चितवन र मकवानपुरबाहेकका जिल्लामा रहेका ३९ वटा जेसीज शाखाहरू पर्दछन्।

भोटेकोशी बाढीबाट मुलुक प्रभावित भएको विषम परिस्थितिमा हुन लागेको यस सम्मेलनमा ‘प्रोजेक्ट संकल्प २०२६’ मार्फत प्राकृतिक विपद् व्यवस्थापन, पीडितहरूको पुनर्स्थापना तथा समुदायमा सकारात्मक परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै ‘Aim Act Achieve’ को भावनालाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाइएको छ।

काभ्रे लेडी जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनिका शाक्यले सम्मेलनले यस क्षेत्रका युवाहरूको नेतृत्व विकास गरी गतिशील युवालाई समाज र देशप्रतिको काम, कर्तव्य र दायित्वबारे सजग गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन्। सम्मेलनका सचिव देवकी आचार्य दुलालले बनेपा र काभ्रेपलाञ्चोक जिल्लाका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको प्रवर्द्धन र व्यावसायिक विकास गर्ने मुख्य लक्ष्य रहेको जानकारी दिएकी छन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सेमिनार, वक्तृत्वकला प्रतियोगिता, प्रकरण गोष्ठी, नेतृत्व तथा क्षमता विकाससम्बन्धी प्रशिक्षण (Motivation Training, Generative AI for Digital Marketing, Financial Literacy and Investment Training, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वलगायत) सञ्चालन गरिनेछ। संसदीय बैठक प्रणालीबाट सभा सञ्चालन हुनेछ। दोस्रो दिन बनेपाको ऐतिहासिक लायकु दरबार क्षेत्रदेखि प्रसिद्ध चण्डेश्वरी मन्दिर प्राङ्गणसम्म विभिन्न परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित ‘शान्ति पदयात्रा’ आयोजना गरिनेछ।

पत्रकार सम्मेलनमा सम्मेलनको पिन पनि सार्वजनिक गरिएको थियो। बागमती प्रदेशका पूर्वमन्त्री एवं काभ्रे जेसीजका पूर्व अध्यक्ष कञ्चनचन्द्र बादेले विषम परिस्थितिमा हुने कार्यक्रमले हौसला र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे। नेपाल जेसीज वर्ष २०२३ का अध्यक्ष विकास मानन्धरले काभ्रे लेडी जेसीजको मुख्य आतिथ्यतामा हुने कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाकै गौरवको विषय भएकाले सबैले अपनत्व लिन आग्रह गरे। नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सम्मेलन सफलताको कामना गर्दै अन्तर्राष्ट्रिय सञ्जाल भएको जेसीजको कार्यक्रमले बाढीपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिने बताए।

सन् १९९४ मा स्थापित काभ्रे लेडी जेसीज १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक कार्यहरूमा एकल वा विभिन्न संघ–संस्थासँग मिलेर स्वयंसेवी रूपमा सक्रिय छ।​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस