
नेपाल र चीनबीचको सम्बन्धलाई युवा पुस्ताको सहभागिता, ज्ञान आदानप्रदान र सांस्कृतिक संवादमार्फत अझ मजबुत बनाउने उद्देश्यले चीनमा दोस्रो नेपाल युवा अध्ययन शिविर ‘Dialogue Across the Himalayas’ सफलतापूर्वक सम्पन्न भएको छ। सात दिनसम्म चलेको यस कार्यक्रमले सहभागी नेपाली युवालाई चीनको प्रविधि, सञ्चार क्षेत्रको विकास र बदलिँदो डिजिटल वातावरणलाई नजिकबाट बुझ्ने अवसर दिएको छ।
सेप्टेम्बर ६ देखि १२ सम्म चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (UESTC) मा आयोजित यस शिविरमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी तथा प्रतिनिधिहरू सहभागी थिए। काठमाडौं विश्वविद्यालयबाट शिव थापा मगर सहभागी भएका थिए।
प्यान-हिमालयन कम्युनिकेसन रिसर्च सेन्टर र स्कूल अफ पब्लिक एड्मिनिस्ट्रेसन, UESTC को आयोजनामा भएको यस वर्षको कार्यक्रममा कृत्रिम बौद्धिकता (AI), Artificial Intelligence Generated Content (AIGC), डिजिटल सञ्चार र भविष्यको मिडिया मुख्य विषयवस्तुका रूपमा समावेश थिए। सहभागीहरूले कार्यशाला, छलफल र व्यावहारिक गतिविधिमार्फत सञ्चार तथा डिजिटल सामग्री उत्पादनमा AI को प्रयोग र यसले मिडिया क्षेत्रमा पार्न सक्ने प्रभावबारे जानकारी हासिल गरे।
शिविरका क्रममा नेपाली युवाले चीनमा प्रविधिको प्रयोग र विकासलाई प्रत्यक्ष रूपमा अवलोकन गर्ने मौका पाए। उनीहरूले पाण्डा पार्क, तियानफु नयाँ क्षेत्रलगायतका स्थानको भ्रमण गरेका थिए भने विभिन्न डिजिटल तथा प्रविधिमैत्री केन्द्रहरूको अवलोकन पनि गरे। सिचुआन युनिभर्सिटी अफ मिडिया एन्ड कम्युनिकेसन (SUMC) मा रहेको VR/SR Labs को भ्रमणले सञ्चार, मिडिया र immersive प्रविधिबीचको सम्बन्ध बुझ्न थप सहयोग पुर्याएको थियो।
कार्यक्रममा भएको अन्तरविश्वविद्यालयीय तथा अन्तरसांस्कृतिक संवादलाई सहभागीहरूले महत्वपूर्ण उपलब्धि मानेका छन्। नेपाली र चिनियाँ युवाबीचको प्रत्यक्ष अन्तरक्रियाले फरक भाषा र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूबीच आपसी समझदारी र मित्रता निर्माणमा संवादको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा स्पष्ट भएको उनीहरूको अनुभव छ।
सहभागीहरूका अनुसार छोटो समयमै बनेका मित्रता र आत्मीय सम्बन्ध कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष थियो। चिनियाँ विद्यार्थी तथा साथीहरू जस्तै Joy, Soda, Fox, Blair र Cora सँगको भेटघाट, कुराकानी र सांस्कृतिक आदानप्रदानले नेपाल–चीन सम्बन्धको मानवीय पक्षलाई नजिकबाट महसुस गराएको उनीहरूले बताएका छन्।
कार्यक्रम सफल बनाउन योगदान पुर्याएको भन्दै सहभागीहरूले प्रोफेसर ज्यान जुनसहित UESTC को सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन्। आयोजक टोलीको आतिथ्यता, सहजीकरण र निरन्तर मार्गदर्शनले अध्ययन तथा भ्रमणका गतिविधिलाई प्रभावकारी बनाउन मद्दत पुगेको उनीहरूको भनाइ छ।
नेपाल फर्किएका सहभागीहरूका लागि चीनको सातदिने अनुभव नयाँ प्रविधि र शैक्षिक ज्ञान हासिल गर्ने अवसरमा मात्र सीमित रहेन। यसले उनीहरूलाई चीनको सामाजिक तथा सांस्कृतिक परिवेश बुझ्ने, अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्ने र भविष्यमा शैक्षिक तथा व्यावसायिक सहकार्यका सम्भावना पहिचान गर्ने अवसरसमेत प्रदान गरेको छ।
विशेष गरी युवा पुस्ताबीचको प्रत्यक्ष सम्पर्कले नेपाल–चीन सम्बन्धलाई नयाँ पुस्तासम्म फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सहभागीहरूको विश्वास छ। ‘Dialogue Across the Himalayas’ ले हिमालयका दुवैतर्फका युवाबीच ज्ञान, प्रविधि, संस्कृति र मित्रताको माध्यमबाट संवादको नयाँ आधार तयार पारेको छ।
आयोजक तथा सहभागीहरूको अपेक्षा छ कि यस्ता अध्ययन, सांस्कृतिक र युवा आदानप्रदानका कार्यक्रमलाई निरन्तरता दिँदै नेपाल र चीनका युवाबीचको सहकार्यलाई अझ व्यापक बनाउन सकिनेछ।