विपद् तयारी तथा प्रतिकार्यमा केन्द्रित पूर्व-सम्मेलन सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन ४, आईतबार (३ हप्ता अघि)
  • १२९ पटक पढिएको

विपद् तयारी तथा प्रतिकार्यमा केन्द्रित पूर्व-सम्मेलन सम्पन्न

नेपालिज सोसाइटी अफ कम्युनिटी मेडिसिन (NESCOM) को चौथो सम्मेलन तथा अन्तर्राष्ट्रिय RISK-E-SCAPE Conference 2026 अन्तर्गत मुख्य सम्मेलनअघि सेप्टेम्बर १३ मा धुलिखेल अस्पतालमा विपद् तयारी तथा प्रतिकार्यसम्बन्धी पूर्व-सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।

“जलवायु, विपद् र स्वास्थ्य: प्रमाण, नवप्रवर्तन तथा उत्थानशीलता” भन्ने सम्मेलनको मूल विषयवस्तुलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले विपद्का बेला स्वास्थ्य क्षेत्रको तयारी, प्रभावकारी प्रतिकार्य र समन्वयलाई व्यावहारिक अभ्यासमार्फत जोड दिएको थियो।

कार्यक्रममा CBRNE (रासायनिक, जैविक, रेडियोलोजिकल, आणविक तथा उच्च क्षमताका विस्फोटक पदार्थ) जोखिम, विस्फोट तथा ब्लास्ट इन्जुरी व्यवस्थापन, बहुसंख्यक घाइते व्यवस्थापन, विपद् चिकित्सामा सञ्चार तथा टेबलटप अभ्यासजस्ता विषयमा अन्तरक्रियात्मक र व्यावहारिक सत्र सञ्चालन गरिएको थियो। टेबलटप अभ्यासपछि हट वास र अभ्यासपछिको समीक्षा पनि गरिएको थियो, जसमा पहिचान भएका सिकाइ, चुनौती र सुधारका पक्षहरूबारे छलफल भयो।

सत्रहरू डा. मोहम्मद अल्वी बिन अब्दुल रहमान, एसोसिएट प्रोफेसर डा. संझना बस्नेत, डा. पुष्पाञ्जली अधिकारी, प्रा. डा. बिनिता प्रधान, प्रा. डा. रोहित श्रेष्ठ, सहप्राध्यापक डा. यज्ञ रत्न शाक्य, डा. राजकुमार डंगाल तथा डा. आलोक प्रधानले सहजीकरण गरेका थिए। विशेष गरी मलेसियाको मलाया विश्वविद्यालयका वरिष्ठ परामर्शदाता तथा मलेसियन रेड क्रिसेन्ट सोसाइटीको विपद् व्यवस्थापन समितिका अध्यक्ष डा. मोहम्मद अल्वी बिन अब्दुल रहमानको सहजीकरणले कार्यक्रमलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्न मद्दत पुर्‍याएको थियो।

सत्रहरू World Academic Council of Emergency Medicine – Tabletop Exercise and Communication in Disaster Medicine (WACEM-TOPCOM) को सहकार्यमा सञ्चालन भएका थिए। यसले विपद् चिकित्सा, टेबलटप अभ्यास र स्वास्थ्य सञ्चारका व्यावहारिक पक्षलाई अभ्यासमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

पूर्व-सम्मेलनका अवसरमा सम्मेलनको मूल विषयवस्तुमा आधारित चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस (KUSMS) का MBBS विद्यार्थी राजेन्द्र बोगटी विजेता बनेका थिए। यसका साथै आधिकारिक सामाजिक सञ्जालमार्फत फोटोग्राफी तथा भिडियोग्राफी प्रतियोगिता समेत सञ्चालन गरिएको थियो।

यी गतिविधिले वैज्ञानिक कार्यक्रमसँगै कला, दृश्य कथा र डिजिटल माध्यमलाई समेट्दै सम्मेलनका विषयवस्तुलाई व्यापक रूपमा प्रस्तुत गरेका थिए। समग्रमा पूर्व-सम्मेलनले सैद्धान्तिक छलफलसँगै व्यावहारिक अभ्यास र सिर्जनात्मक प्रस्तुतिलाई जोड्दै मुख्य सम्मेलनका लागि बलियो आधार तयार गरेको छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस