दोलखाको राम्पामा १० दिने होजियारी तालिम सुरु, थामी समुदायका महिलाहरू सहभागी

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन १६, शुक्रबार (१ हप्ता अघि)
  • १४६ पटक पढिएको

दोलखाको राम्पामा १० दिने होजियारी तालिम सुरु, थामी समुदायका महिलाहरू सहभागी

दोलखा /दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २, राम्पामा १० दिने हाते होजियारी तालिम सुरु भएको छ । श्री त्रिपुरा सुन्दरी सामुदायिक सिकाई केन्द्रको आयोजनामा बिहीबार (असोज १६ गते ) देखि उक्त तालिम विधिवत् रूपमा उद्घाटन गरी सुरु गरिएको हो ।
विशेष गरी यतिबेला खेतीपातीको काम नभएर फुर्सदको समयमा रहेका स्थानीय गृहिणीहरू र अति सीमान्तकृत थामी समुदायको बाहुल्यता रहेको राम्पा डोकथलीका महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको यस तालिममा १५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको छ ।
तालिम उद्घघाटन कार्यक्रम श्री त्रिपुरा सुन्दरी सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष अनिता थामीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा सदस्य देवेन्द्र थामी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा सामाजिक अभियन्ता अजय प्रधान उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा सिकाई केन्द्रकी स्रोत व्यक्ति दिलमाया थामीले आमन्त्रित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य संगै तालिमको बारे प्रकाश गर्नुभएको थियो ।
तालिम उद्घाटन सत्रमा बोल्दै विशेष अतिथि एवं सामाजिक अभियन्ता अजय प्रधानले सामुदायिक अध्ययन केन्द्रको काम कर्तव्य, होजियारी तालिमको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले तालिमको व्यावहारिक पाटो र यसलाई भविष्यमा कसरी आयआर्जन र व्यावसायिकतासँग जोड्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो । त्यसैगरी, प्रमुख अतिथि एवं वडा सदस्य देवेन्द्र थामीले तालिम सफलताको शुभकामना व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
उद्घघाटन कार्यक्रममा जीवन विज्ञान योगका योग प्रशिक्षकहरू कालिका पाण्डे र बिनु श्रेष्ठका साथै विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो । असोज २५ गतेसम्म सञ्चालन हुने उक्त तालिमको मुख्य प्रशिक्षकमा दुर्गा श्रेष्ठ रहनुभएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै आत्मनिर्भर बन्नका लागि यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास आयोजकले लिएको छ ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस