निर्माण व्यवसायी महासङ्घद्वारा पीपीएमओलाई प्राविधिक समस्या र साइबर सुरक्षा जोखिम समाधानको आग्रह

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन १६, शुक्रबार (१ हप्ता अघि)
  • ८७ पटक पढिएको

निर्माण व्यवसायी महासङ्घद्वारा पीपीएमओलाई प्राविधिक समस्या र साइबर सुरक्षा जोखिम समाधानको आग्रह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा देखिएका प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम र बोलपत्र पेस गर्दा भोग्नुपरेको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्त (मुकेश) नेतृत्वको प्रतिनिधिमण्डलले पीपीएमओका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरी हालको हार्डकपी बोलपत्र दाखिलासम्बन्धी समस्या तथा विद्युतीय खरिद प्रणाली (ई-जीपी) को स्तरोन्नति र सञ्चालनका विषयमा छलफल गरेको थियो।

भेटका क्रममा महासङ्घले विद्यमान प्रणालीमा रहेका साइबर सुरक्षा जोखिम, डेटा सुरक्षा र प्रणालीगत सुरक्षाका मुद्दाहरूमा कार्यालयको ध्यान आकर्षित गरायो। निर्माण व्यवसायीहरूले बोलपत्र पेस गर्दा कुनै प्राविधिक अवरोध नहुने वातावरण बनाउन तथा सार्वजनिक खरिद प्रक्रियालाई निरन्तर र सुरक्षित रूपमा सञ्चालन गर्न प्रतिनिधिमण्डलले आग्रह गरेको छ।

विद्युतीय प्रणालीमा समस्या आएको अवस्थामा खरिद प्रक्रिया नै रोकिन नदिन महासङ्घले तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेको छ। हार्डकपी र विद्युतीय खरिद प्रणाली दुवै माध्यमबाट बोलपत्र पेस गर्न सकिने व्यवस्था मिलाउन वा अत्यावश्यक बाहेकका नयाँ बोलपत्रहरू अहिलेका लागि सुरु नगर्न आग्रह गरिएको छ। साथै, नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म हाल प्रकाशित भइसकेका बोलपत्रहरूको म्याद थप गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

नयाँ प्रणालीको आवश्यक कानुनी, प्राविधिक तथा साइबर सुरक्षा परीक्षण छिटो सम्पन्न गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि महासङ्घले जोड दिएको छ।

छलफलका क्रममा पीपीएमओले विद्यमान प्रणालीलाई आवश्यक प्राविधिक तथा सुरक्षात्मक सुधारसहित ‘भर्सन–२’ का रूपमा स्तरोन्नति गरी नयाँ प्रणाली विकास भइरहेको जानकारी दिएको छ। कार्यालयका अनुसार हाल उक्त नयाँ प्रणालीको डेमो तथा परीक्षण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस