नेपाली कांग्रेस काभ्रेले सम्पन्न गर्यो सय दिने विशेष अभियान


नेपाली कांग्रेस काभ्रेले  सम्पन्न गर्यो सय दिने विशेष अभियान

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सञ्चालन गरेको ‘१०० दिने विशेष अभियान’ समापन गरिएको छ ।

केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार २०८१ मंसिर ११ गते शुभारम्भ गरिएको अभियान आज शुक्रबार पार्टी कार्यालय बनेपामा आयोजित एक समारोहबीच समापन गरिएको हो ।

२०८१ असोज ७ गतेदेखि पुष १६ गतेसम्म सञ्चालन गर्ने भनिएको अभियान काभ्रेपलाञ्चोकमा गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोको कारण प्रभावित भएको थियो । काभ्रेपलाञ्चोक लगायत प्रभावित जिल्लाको हकमा केन्द्रले म्याद थप गरेको थियो ।

अभियानले पार्टीलाई विधिवत, संस्थागत सञ्चालन गर्न मद्दत पुगेको र पार्टी संगठन सुदृढ गर्न विभिन्न अभियान सञ्चालन गरिएको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो ।
जिल्ला सचिव गुणराज मोक्तानका अनुसार, अभियान अन्तर्गत १ सय २५ वटा वडामा सम्मेलनका साथै क्रियाशील सदस्यता वितरण र नवीकरण गरिएको छ । जिल्ला, स्थानीय तह र वडा स्तरसम्म भातृ, शुभेच्छुक संस्थाहरू गठन तथा पूर्णता दिनु को साथै छ वटा वडा कार्यसमितिमा रिक्त सभापति पदपूर्ति गर्दै सभापति बाहेकका पदमा मनोनयन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकलाई पूर्णता दिइएको छ भने नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र काभ्रे–काठमाडौँ उपत्यका सम्पर्क समिति लगायतका भातृ एवं शुभेच्क्षुक संस्थालाई गठन विस्तार एवं पूर्णता दिइएको छ । स्थानीय तह कार्यसमितिले सम्मेलन गरेका छन् भने जनप्रतिनिधिहरूसँग समन्वय गर्न पार्टीले सम्बन्धित तहमा समन्वय संयन्त्रसमेत निर्माण गरेको छ ।

अभियानका केन्द्रीय प्रतिनिधिसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले अभियानले संगठन बनाउन मद्दत गरेको भन्दै यस्ता अभियानले पार्टी बलियो हुने धारणा राख्नु भयो । लोकतान्त्रिक पार्टीमा विचार वा विभिन्न आधारमा समूह निर्माण हुनसक्ने भन्दै समूहका नाममा संगठन नबिगार्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस र एमालेसहितको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले यो सरकार असफल हुँदा लोकतन्त्र प्रजातन्त्र नै असफल हुने हो कि भन्ने चुनौती थपिएको तर्क गरे। तत्कालीन अवस्थामा मूर्ति, गाँजा तस्करीमा संलग्न राजपरिवारका सदस्यलाई राजा मान्न नसकिने तर्क गर्दै उनले ‘सन्तान सम्हाल्न नसक्नेले’ देश सम्हाल्न नसक्ने दाबी गरे । आफू बाहेक सबै गलत भन्ने भाष्य बनाउन खोजिएको भन्दै उनले त्यो चिर्नुपर्ने बताए ।

जिल्ला उपसभापति रमेश हुमागाईले केही बाहेक हरेक वडामा अभियान सञ्चालन भएकाले कांग्रेसको संगठन निर्माणमा मद्दत पुगेकोे बताउनु भयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस