
पाँचखाल । प्रतिनिधि सभा काभ्रे क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट, घरदैलो अभियान र जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम शुरु गरेका छन् ।
बिहीबार पाँचखाल नगरपालिकाको वडानम्बर–९ भगवतीस्थानबाट ८ बजेदेखि शुरु भएको कार्यक्रम दिनभरि नै भइरहेको थियो । पलाञ्चोक भगवती मन्दिरको दर्शनपश्चात शुरु आजको कार्यक्रम १० बजे पाँचखालको वडानम्बर–११ स्थित खरेलथोकको सातदोबाटोमा कार्यक्रम भयो ।
१२ बजे वडानम्बर–८ को होक्सेबजारमा भेटघाट गरिएको थियो भने दनुवार बस्ती रहेको वडानम्बर–१२ स्थित आँपघारीमा पनि कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रम गरिएको उम्मेदवार मधु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि पाँचखालकै थप वडाहरुमा कार्यक्रमहरु राखिएको छ ।
आजको कार्यक्रममा भेट भएका सबै नागरिकले कांग्रेसको अबको बाटो र भविष्य एकदमै उज्वल रहेकाले आफूहरुले सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । घरदैलो कार्यक्रमपछि साँच्चै कांग्रेस रुपान्तरण भइसकेको आफूले पाएको नेता आचार्यले प्रतिक्रिया दिनुभयो ।
आजको कार्यक्रममा क्षेत्रिय सभापति महेश खरेल, कांग्रेस नेता सुन्दरमणि आचार्य, जिल्ला सचिब माधव ढकाललगायतका नेताहरुको उपस्थिती रहेको थियो भने नागरिकहरुले पनि निकै चासोका साथ कार्यक्रममा साथ दिएका थिए । नागरिकका गुनासोलाई सम्बोधन गर्दै थप कार्यक्रमसहित आगामी दिनमा अघि बढ्ने सहभागी नेताहरुले बताएका थिए ।
पाँचखालपछि मण्डनदेउपुर, भुम्लु, बेथानचोकलगायतका पालिकामा कार्यक्रम गरिने तालिका छ । आजै पाँचखालमा कांग्रेसको सम्पर्क कार्यालयको पनि उद्घाटन गरिएको थियो ।