
दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै देउवा पक्षले दोलखामा छुट्टै सम्पर्क तथा महाधिवेशन तयारी कार्यालय स्थापना गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कुन्दनराज काफ्लेले सदरमुकाम चरिकोटमा पार्टीको झण्डा र ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को ब्यानर राखेर कार्यालय स्थापना गरेका हुन्।
देउवा पक्षले देशभर १५औँ महाधिवेशनका लागि छुट्टै तयारी अघि बढाइरहेको अवस्थामा दोलखामा पनि कार्यालय स्थापना गरिएको हो। देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिले दोलखाको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी काफ्लेलाई दिएको छ।
कार्यालय स्थापनासँगै दोलखामा देउवा पक्षले वडा, पालिका, क्षेत्र हुँदै जिल्ला तहका अधिवेशनका लागि आवश्यक तयारी, नेता–कार्यकर्तासँगको समन्वय तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने भएको छ।
कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षबीच छुट्टाछुट्टै तयारी भइरहेको छ। देउवा पक्षले आफ्नै कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ भने अर्को पक्षले पनि छुट्टै कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।
चरिकोटमा देउवा पक्षको सम्पर्क तथा महाधिवेशन तयारी कार्यालय स्थापना भएसँगै दोलखामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय बनेको छ।